श्रीलंकामा भएकाे विस्फोटमा होटल र चर्च निसानामा : २०७ जनाको मृत्यु

  • ८ बैशाख २०७६, आईतवार
  • 1617 पटक पढिएको

श्रीलंकामा शृङ्खलाबद्ध चर्च र होटलमा आक्रमण भएको छ । ‘इस्टर सनडे’का अवसरमा प्रार्थना गरिरहेकालाई लक्षित गरी श्रीलंकाका विभिन्न ठाउँमा बम विस्फोट भएको हो । श्रीलंकामा आइतबार बिहान लगातार छ स्थानमा बम विस्फोट गराइएको थियो भने दिउँसो थप दुई ठाउँमा विस्फोट भएको थियो । विस्फोटमा २०७ जनाले ज्यान गुमाइसकेको र करिब चार सय भन्दा बढी घाइते भएको बीबीसीमा उल्लेख छ । आइतबार बिहान इस्टर पर्व मनाउन व्यस्त भएको मौका छोपेर चर्च र होटलहरुमा वटा विस्फोट गराइएको थियो । श्रीलंकाको राजधानी कोलम्बो, मुख्य शहर नेगोम्बो र बाटीकालोआमा विस्फोट भएको थियो भने दिउँसो देहिवाडाको एउटा होटलमा र अन्तिम आठौँ पटक डेमाटागोडामा विस्फोट भएको थियो ।

श्रीलंका सरकारले आइतबार भएको सिलसिलाबद्ध हमला आत्मघाती हमला भएको र यसको षड्यन्त्र विदेशमा रचिएको दाबी गरेको छ । श्रीलंकाका रक्षामन्त्री विजयवर्धनले भनेका छन् ‘यो आत्मघाती हमला हो । यसमा संलग्न भएको आरोपमा सात जनालाई पक्राउ गरिएको छ । खुफिया एजेन्सीले हमलाको बारेमा पहिले नै सूचना दिएका थिए । तर उनीहरुलाई रोक्नु अघि नै हमला भयो । यो हमलाको षड्यन्त्र विदेशमा रचिएको थियो ।’

मानिसहरुमा अब पनि हमला हुन्छ भन्ने डर छ । यसले गर्दा श्रीलंका निकै त्रसित बनेको छ । श्रीलंकामा अहिलेसम्म आठ ठाउँमा विस्फोट भैसकेको छ ।उनीहरुले इस्टरको अवसरमा चर्च र होटललाई निशाना बनाएका छन् । आठौँ पटक भएको विस्फोटमा तीनजना प्रहरी अधिकारी पनि मारिएका छन् । यो विस्फोट कोलम्बोको एक घरमा प्रहरीले तलासी लिने क्रममा भएको थियो ।

श्रीलंकाको प्रधानमन्त्री कार्यालयले जानकारी दिएअनुसार विस्फोटमा ९ जना विदेशी नागरिकको पनि ज्यान गएको छ । तर उनीहरु कुन कुन देशमा नागरिक हुन् भन्नेबारे खुल्न सकेको छैन । यो घटना कसले गरायो भन्नेबारे केही पत्ता लाग्न सकेको छैन । घटनाको कसैले पनि जिम्मा लिएको छैन ।

 

अहिलेसम्मको जानकारी अनुसार तीनओटा चर्च र कोलम्बोको तीनओटा फाइभ स्टार होटलमा विस्फोट भएको छ । श्रीलंकाका राष्ट्रपति मैत्रीपाला सिरिसेनाले आक्रमणको अनुसन्धान भइरहेका बताएका छन् । उनले भ्रामक समाचारमा विश्वास नगर्न र शान्त रहन अपिल पनि गरेका छन् ।श्रीलंकामा भएको आतंकवादी हमलाले त्रास फैलिएको छ । श्रीलंका सरकारले आइतबार बेलुकादेखि अर्को सूचना जारी नभएसम्मका लागि कर्फ्यू जारी गरेको छ । सामाजिक सञ्जालले भ्रामक समाचार फैलाएको भन्दै फेसबुकलगायतका सामाजिक सञ्जाल पनि बन्द गराएको छ ।

 

यसैगरी नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीले श्रीलंकामा भएको शृ‌ंखलाबद्ध हमलाप्रति दु:ख व्यक्त गर्नुभएको छ । आइतबार अपरान्ह प्रधानमन्त्री ओलीले  श्रीलंकाका प्रधानमन्त्री रनिल विक्रमासिंघेसँग फोनमा कुराकानी गर्दै बम बिस्फोटको घटनामा कैयौं निर्दोषहरुको ज्यान गएकोमा दुःख व्यक्त गर्नुभएको हो । प्रधानमन्त्री ओलीले आफ्ना समकक्षी मार्फत श्रीलंकाली जनताप्रति हार्दिक समवेदना प्रकट गरेको सचिवालयले जनाएको छ ।