बेनी अस्पतालमा निर्मीत आवास भवन हस्तान्तरण

  • ८ बैशाख २०७६, आईतवार
  • 2978 पटक पढिएको

सन्तोष गौतम
बेनी ८ बैशाख । बेनी अस्पतालमा निर्माण भएको डाक्टर र नर्सिङ आवास (क्वाटर) भवन आइतबार हस्तान्तरण गरिएको छ । अस्पतालमा आयोजना गरिएको कार्यक्रममा १६÷१६ कोठ दुई वटा भवन हस्तान्तरण गरिएको हो । संघीय आयोजना कार्यान्वयन इकाई कास्कीले बेनी अस्पताल व्यवस्थापन समितिलाई भवन निर्माण सम्बन्धी कागजात हस्तान्तरण गरिएको थियो ।   

हस्तान्तरण कार्यक्रममा निर्धारित समयभित्रै भवन निर्माण गरेकोमा महादेव–नाना जेभीका सञ्चालक कृष्णकुमार शेरचनलाई सम्मान गरिएको थियो । चार परिवार क्षमताको चिकित्सक भवन एक करोड १३ लाख ९९ हजार ३६२ रुपैयाँ र चारै परिवारको नर्सिङ आवास भवन ७४ लाख ९९ हजार ८१४ रुपैयाँमा ठेक्का सम्झौता भएको थियो । २०७४ असार ५ गते सम्झौता भएको भवन निर्माण स्थलमाथिको विद्युत लाइनका स्थानान्तरण गर्न भएको ढिलाइले तोकिएको समयमा छ महिना म्याद थपिएपनि व्यवसायीले सन्तोषजनक काम गरेकोमा सहभागिले प्रशंसा गरेका थिए ।

सहभागिहरुले ५० शैया क्षमताको अस्पताल भवन निर्माणमा भएको ढिलासुस्तीप्रति भने असन्तुष्टि जनाएका थिए । कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख देवेन्द्रबहादुर केसीले पूर्वाधार आयोजनामा भैरहेको ढिलासुस्ती हटाउन आवश्यक रहेको बताउनुभयो । जिसस प्रमुख केसीले समयमै गुणस्तीय काम गर्नेलाई प्रोत्साहन र ढिलासुस्ती गर्नेलाई कारबाही गर्नुपर्ने बताउनुभयो । नगरप्रमुख हरिकुमार श्रेष्ठले इकाई मार्फत सञ्चालित पचास शैया क्षमताको अस्पताल भवन र बेनपा ७ मा सडक कालोपत्रे योजनामा ढिलासुस्ती भएकोमा ध्यानाकर्षण गराउनुभयो ।

प्रमुख जिल्ला अधिकारी लीलाधर अधिकारीे पूर्वाधार निर्माणमा ढिलासुस्ती हटाउन र गुणस्तरीय बनाउन निर्माण व्यवसायी र सम्बन्धित निकाय जिम्मेवार तथा समुदायको निगरानी र सहजिकरणको आवश्यकता रहेको बताउनुभयो । इकाइका प्रमुख नारायणदत्त भण्डारीले बेनी अस्पतालको डाक्टर र नर्सिङ आवास भवन समयमै निर्माण भएको जानकारी गराउनुभयो । पचास शैया क्षमताको भवन बनाउने जिम्मेवारी लिएको ठेकेदार कम्पनीलाई ताकेता गरिएको बताउनुभयो ।

बेनी अस्पताल व्यवस्थापन समितिका अध्यक्ष बेलबहादुर कटुवालको अध्यक्षता, त्रिबिक्रम आचार्यको सञ्चालन र सदस्य उत्तमकुमार कर्माचार्यको स्वागत मन्तब्यमा कार्यक्रम सम्पन्न भएको थियो ।