मंगला र मुक्तिधाम माविमा कृषि प्राबिधिक विषयको पढाई हुने

  • ५ बैशाख २०७६, बिहीबार
  • 1228 पटक पढिएको

बेनी ५ बैशाख । म्याग्दीको दुई वटा सामुदायिक विद्यालयमा नयाँ शैक्षिक सत्रदेखि कृषि प्राबिधिकविषयको पठनपाठन सञ्चालन हुने भएको छ । मंगला गाउँपालिकाको केन्द्र बाबियाचौरमा रहेको मंगला मावि र रघुगंगा गाउँपालिका २ भगवतीको मुक्तिधाम माविमा कक्षा ९ देखि १२ सम्म कृषि प्राबिधिक विषयको पठनपाठन सञ्चालनका लागि शिक्षा मन्त्रालयले अनुमती दिएको हो ।

मन्त्रालयले अनुमती दिएकाले प्राबिधिक धार तर्फ सुरु भइसकेको यसै वर्षको शैक्षिक सत्रदेखि कृषि प्राबिधिक विषयको पठनपाठन सञ्चालन गर्ने तयारी गरिएको दुवै विद्यालयले जनाएका छन् । एक वर्षमा ४० जना विद्यार्थी भर्ना गर्न सकिने मंगला माविका शिक्षक हुमनाथ पाण्डेले बताउनुभयो ।

विद्यार्थीहरुले कक्षा १२ सम्म आइएस्सीएजी तहको शिक्षा हाँसील गर्न सक्ने उहाँले बताउनुभयो । छ वटा साधारण र चार वटा कृषि प्राबिधिक विषयको पढाई हुने मुक्तिधाम माविका प्रअ अमर केसीले बताउनुभयो ।

यसअघि बेनी नगरपालिका ९ तोरीपानीको गलेश्वर माविमा सिभिल इञ्जिनियरीङ विषयको पठनपाठन हुदै आएको छ । यसैगरी मालिका गाउँपालिका ७ बिमको किसानी माविमा कक्षा ९ देखिनै सिटिइभिटी अन्तरगत जेटिए र पशु स्वास्थ्य विषयको पठनपाठन हुदै आएको छ ।