भरजुलामा खेलमैदान निर्माण

  • १० बैशाख २०७४, आईतवार
  • 3391 पटक पढिएको

म्याग्दी, १० वैशाख । म्याग्दीको मंगला गाउँपालीका १ भरजुलामा युवाहरुको सक्रियतामा खेलमैदान निर्माण भएको छ ।    साविक कुहुँ गाविस ७ मा पर्ने भरजुलामा रहेको आदर्श युवा कल्वको पहलमा श्रमदान बाहेक १६ लाख रुपैयाको लागतमा खेलमैदान निर्माण भएको हो । भिरालो पाखोलाई सम्माएर तिस मिटर लम्बाई र १७ मिटर चौडाई भएको खेलमैदान निर्माण गरिएको कल्वका संयोजक कुमार शेरपुञ्जाले बताउनुभयो ।

प्याराफिट र मञ्च समेत रहेको मैदानमा भलीबल र बास्केटबल खेल सञ्चालन गर्न सकिन्छ । खेलमैदान निर्माण भएपछि स्थानीय खेलाडीहरुले आफ्नो प्रतिभा प्रस्फुटन र खेल अभ्यास गर्ने अवसर पाएका छन् । कल्वमा आवद्ध २२ जना सदस्यहरुले ३० दिन र ६५ घरधुरीले १५१५ दिनका दरले श्रमदान गरेका थिए ।

स्थानीय बासिन्दा र प्रवासमा रहेका भरजुला बासीहरुबाट सात लाख पचास हजार रुपैया सहयोग जुटेको छ । जिल्ला समन्वय समितिले पाँच लाख रुपैया बजेट बिनियोजन गरेको योजना सम्पन्न गर्न स्थानीय सहकारी संस्थाबाट तिन लाख पचास हजार रुपैया ऋण लिएको संयोजक शेरपुञ्जाले बताउनुभयो ।

खेलमैदानमा तारबारले घेराउ र संरक्षण गरी व्यवस्थित गर्ने योजना रहेको छ ।