फलातेमा खेलमैदान र भवनको उद्घाटन

  • ५ बैशाख २०७६, बिहीबार
  • 3902 पटक पढिएको

बेनी ५ बैशाख । म्याग्दीको अन्नपूर्ण गाउँपालिका ५ फलातेमा निर्माण भएको खेलमैदान, युवा क्लव र आमा समूहको भवनको बुधबार उद्घाटन गरिएको छ । ग्रुप स्टार युवा क्लव र लालीगुराँस आमा समूहले बनाएको खेलमैदान र भवनको नेपाली काँग्रेस म्याग्दीका सभापति खम्बिर गर्बुजाले उद्घाटन गर्नुभएको हो । सभापति गर्बुजाले विकासका लागि समुदाय जागरुक भएर अघि बढ्नुपर्ने बताउनुभयो ।

बास्केटबल र भलिबल खेल सञ्चालन गर्न सकिने ढलान गरिएको खेलमैदान र क्लवको भवन निर्माणका लागि २७ लाख रुपैयाँ खर्च भएको क्लवका सचिव अर्जुन पुर्जाले बताउनुभयो । यसैगरी आमा समूहको दुई कोठे भवन निर्माणका लागि सात लाख रुपैयाँ लगानी भएको छ ।

खेलमैदान र क्लवको भवनका लागि गाउँपालिकाले विभिन्न शिर्षकमा १२ लाख रुपैयाँ सहयोग गरेको र बाँकी चन्दा तथा श्रमदानबाट जुटाइएको सचिव पुर्जाले बताउनुभयो । आमा समूहको भवन बनाउन यसअघि नेकपाका नेता नारायण पुनको पहलमा सहकारी निकायबाट तीन लाख रुपैयाँ सहयोग आएको थियो ।

क्लवका अध्यक्ष भविन्द्र पुनको अध्यक्षता र मेला संयोजक गोपाल पाइजाको सञ्चालनमा भएको कार्यक्रमका कलाकारहरुले गित तथा नृत्य र विभिन्न व्यक्तिहरुले शुभकामना मन्तब्य व्यक्त गर्नुभएको थियो ।

सो अवसरमा प्रौद्ध भलिबल प्रतियोगिता पनि सञ्चालन गरिएको छ । खेलमैदान निर्माण भएपछि खेलअभ्यास गर्न र प्रतियोगिता सञ्चालन गर्न सहज भएको छ । यसअघि हिउँदमा धुलो र बर्खामा हिलाम्मे हुने खेलमैदान थियो ।