पत्रकार गिरीको रिहाईको माग गर्दै पत्रकार महासंघ म्याग्दीद्धारा गृहमन्त्रालयलाई ज्ञापन पत्र

  • ४ बैशाख २०७६, बुधबार
  • 1670 पटक पढिएको

म्याग्दी, ४ वैशाख । समाचार लेखेकै आधारमा पक्राउ परेका पोखराका पत्रकार अर्जुन गिरीलाई तत्काल रिहा गर्न माग गर्दै नेपाल पत्रकार महासंघ म्याग्दी शाखाले गृहमन्त्रालयमा ज्ञापन पत्र पठाएको छ । प्रमुख जिल्ला अधिकारी लिलाधर अधिकारी मार्फत महासंघले पत्रकारलाई समाचार लेखेको आधारमा नियन्त्रणमा लिनु राज्यको गम्भिर कमजोरी रहेको भन्दै ज्ञापन पत्र पठाएको हो ।

पोखराबाट प्रकाशन हुँदै आएको ताण्डव साप्ताहिक र ताण्डवन्युज डट कममा प्रकाशित समाचार सामग्रीको विषयलाई लिएर उक्त पत्रिका र अनलाइनका सम्पादक अर्जुन गिरीलाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले पक्राउ गरेको छ । सञ्चार माध्यमलाई नियमन गर्ने नेपाल सरकारका अधिकार प्राप्त निकायहरु सूचना विभाग र प्रेस काउन्सिलमा दर्ता भएको अनलाइन र पत्रिकालाई दर्ता नभएको आरोप लगाउँदै प्रहरीले पत्रकारलाई पक्राउ गरेकोप्रति महासंघ गम्भिर ध्यानकर्षण भएको ज्ञापन पत्रमा जनाईएको छ ।

महासंघका अध्यक्ष तारानाथ शर्माको नेतृत्वमा गएका पत्रकारहरुको टोलिले बुधवार ज्ञापन पत्र प्रजिअ अधिकारीलाई हस्तान्तरण गरेका छन् । समाचारको विषयमा चित्त नबुझे नियमनकारी निकाय प्रेस काउन्सिलमा उजुरी गर्ने प्रावधानलाई लत्याउँदै पत्रकारमाथि विद्युतीय कारोबार ऐन लगाएर कारवाही अघि बढाउनु राज्यको गम्भिर गल्ती भएको ज्ञापन पत्रमा उल्लेख छ । यो घटनाले पत्रकारले स्वतन्त्रपूर्वक समाचार लेख्न पाउने संवैधानिक अधिकारमाथि हस्तक्षेप र प्रेस स्वतन्त्रता हनन भएको महासंघको ठहर छ ।

पत्रकार गिरीलाई तत्काल रिहाई गरी प्रेसको संवैधानिक अधिकारको सम्मान, पत्रकारलाई स्वतन्त्र र निर्भीकतापूर्वक काम गर्ने वातावरण बनाउन जोडदार गरिएको छ । साथै समाचार लेखेकै आधारमा अनावश्यक दुख दिने र पत्रकारिता क्षेत्रलाई सङ्कुचित बनाउने गरी ल्याइएको विद्युतीय कारोबार ऐनको दफा ४७ र ४८ तत्काल खारेजीको माग समेत गरिएको छ । सो ज्ञापन पत्रलाई तत्कालै गृहमन्त्रालयमा पठाउने प्रजिअ अधिकारीले प्रतिबद्धता जनाउनुभएको छ ।