संसदीय टोलीद्धारा कोरला नाकाको अध्ययन

  • ४ बैशाख २०७६, बुधबार
  • 1537 पटक पढिएको

निरज थकाली
ठिनी (मुस्ताङ) ४ बैशाख ।  व्यवस्थापिका संसदको अन्तराष्ट्रिय सम्बन्ध समितिको टोलीले मुस्ताङ र चिनको स्वशासित क्षेत्र तिब्बतको सिमानामा रहेको कोरला नाकाको स्थलगत अध्ययन गरेको छ । समितिका सभापति पवित्रा निरौला खरेलको नेतृत्वमा ९ जना संसदहरुको टोलीले निर्माणाधिन बेनी–जोमसोम–कोरला सडक आयोजना, कोरला नाका, नाका क्षेत्रको पूर्वाधार, सुरक्षा अवस्थाको बारेमा अध्ययन गरेको हो ।

गत हप्ता मुस्ताङ आएर बुधबार फर्कीएको संसदीय टोली जिल्लाका धार्मिक, पर्यटकीय स्थलहरुको समेत अध्ययन, अनुगमन गरेर सरोकारवालाहरुसंग छलफल मार्फत सुझाव समेत संकलन गरेको प्रतिनिधिसभा सदस्य प्रेमप्रसाद तुलाचनले जानकारी दिनुभयो ।

टोलीलाई जिल्लाका सरोकारवालाहरुले बेनी–जोमसोम–कोरला सडक आयोजनालाई तिब्रता दिन, विभिन्न स्थानमा मोटरेबल पुल निर्माण गर्न, कोरला नाका सञ्चालनका लागि आवश्यक कुटनीतिक पहल अघि बढाउन, सुरक्षा र प्रशासनिक तयारीका लागि पहल गरिदिन सुझाव दिएका छन् ।

हिन्दु तथा वौद्ध धर्मावलम्बिहरुको साझा तिर्थस्थल मुक्तिनाथ मन्दिर दर्शन र भ्रमणका लागि आउने भक्तजन तथा पर्यटकहरुको उपचारका लागि डाक्टर सहितको दरबन्दि भएको स्वास्थ्य संस्था सञ्चालनका लागि पनि माग गरिएको सांसद तुलाचनले बताउनुभयो ।

अध्ययन र छलफलका विषयलाई समेटेर प्रतिवेदन तयार पारि सरकारलाई सुझाव सहितको प्रतिवेदन बुझाइने सभापति खरेलले बताउनुभयो । नेपाल भ्रमण वर्ष २०२० र कोरला नाका सञ्चालनको तयारीका विषयमा सुझाव संकलनका लागि संसदीय टोली मुस्ताङ आएको हो ।

नेपाल भ्रमण वर्ष २०२० का लागि मुस्ताङ पनि मुख्य पर्यटकीय गन्तब्य भएकाले यस क्षेत्रमा आवश्यक पूर्वाधार निर्माण र धार्मिक पर्यटकीय स्थलको प्रचारप्रसारमा जोड दिनुपर्ने जिल्लाका सरोकारवालाहरुको भनाई छ ।