बगरबाट ढुङ्गा निकालिएकोमा खबराबासीको बिरोध

  • ४ बैशाख २०७६, बुधबार
  • 1419 पटक पढिएको

बेनी ४ बैशाख । बेनी बजार संरक्षण आयोजनाका लागि ग्यावीयन पर्खाल निर्माणका लागि म्याग्दी र कालीगण्डकी नदीको दोभानबाट ढुङ्गा उत्खनन गरिएकोमा बेनपा २ खबराका बासिन्दाले बिरोध जनाएका छन् । बेनी बजार संरक्षण उपभोक्ता समितिले दोभानमा ढुङ्गा उत्खनन्का लागि परिचालन गरेको एक्साभेटरको चावी नियन्त्रणमा लिएर बुधबार स्थानीय प्रशासनलाई बुझाएको खबराका यामबहादुर खड्काले जानकारी दिनुभयो ।

खबराको बस्ती, सडक र कारागारलाई जोखिम हुने गरी नदीमा एक्साभेटर परिचालन गरि राजस्व नतिरी, ठेक्का नलागेको ठाउँबाट ढुङ्गा निकालिएकाले कारबाहीको माग गरिएको खड्काले बताउनुभयो ।

उपभोक्ता समितिका अध्यक्ष कुबिरकुमार श्रेष्ठले भने नगरपालिकाको सहमतिमा कालीगण्डकीमा पानीको सतह बढेकाले छिटो ग्यावीयन पर्खाल निर्माण गर्न टाढाबाट ढुङ्गा ल्याउन सम्भव नभएकाले इस्टिमेट अनुसार खबरातर्फ असर नपुग्नेगरी ढुङ्गा निकालेको र यसलाई महत्व दिन नहुने बताउनुभयो ।