फर्केर हेर्दा २०७५ ! म्याग्दीको लागि उपलब्धी कि क्षती ?

  • २ बैशाख २०७६, सोमबार
  • 2946 पटक पढिएको

बेनी २ बैशाख । हामीबाट बिदाई भइसकेको वर्ष २०७५मा म्याग्दी जिल्लामा राजनितिक, विपद्, दुर्घटना, विकास निर्माण, सामाजिक, आर्थिक, शैक्षिक, पर्यटन लगायत क्षेत्रसंग सम्बन्धित विभिन्न गतिबिधी भए । म्याग्दीमा भएका मुख्य घटनाक्रमको संक्षिप्त विवरण ।

विपद् र दुर्घटना– असोज अन्तिम साता धवलागिरी गाउँपालिका १ स्थित गुर्जा हिमाल आरोहण गर्न गएका पाँच जना विदेशी सहित नौ जनाको हिमआँधिमा परेर ज्यान गयो । रघुगंगा र कालीगण्डकी नदीले कटान गरेर कुइनेमंगलेको रितुङ मावि र कोप्चेपानीको धवलागिरी आधारभुत विद्यालयको भवन बगायो । त्यहाँका बस्ती बाढी र कटानको जोखिममा परेका छन् । कालीगण्डकीमा आएको बाढीले बेनी बजार संरक्षणका लागि किनारमा निर्माणाधिन पर्खाल भत्कायो । गलेश्वरमा रघुगंगा नदीले कटान ग¥यो ।

बैशाखको ३१ गते अन्नपूर्ण गाउँपालिकाको भुरुङ तातोपानीमा आएको बाढीले ४ घर पूर्ण र १३ घरमा आंशिक क्षति पु¥यो । नदी कटान र बाढीले तटीय क्षेत्रका बस्तीमा जोखिम बढाएको छ । बेनी–दरवाङ, बेनी–जोमसोम लगायत मुख्य र सहायक सडक बर्खामा बाढी, पहिरो र कटानका कारण अवरुद्ध भयो । ठूलो खोलामा आएको बाढीले धवलागिरी गाउँपालिकाको मराङ बेशीमा झोलुङ्गे पुल बगायो ।

असार दोस्रो हप्ता हिस्तान घराम्दीकी गर्भवती प्रेमिका सबिता नेपालीलाई तिप्याङ स्थित कालीगण्डकी नदीमा गाडी सहित खसालेर वेपत्ता बनाएका काउलेगौडाका इन्द्रबहादुर खड्का रवीलाई जिल्ला अदालतले जरिवाना सहित जन्मकैदको फैसला सुनायो । विपद् व्यवस्थापन, आपतकालिन अवस्थामा उद्धार र राहतका लागि जिल्ला विपद् व्यवस्थापन समितिले स्थानीय तह र सुरक्षा निकायसंग समन्वय गरेर सबै वडामा हेलीप्याड बनाउने अभियान चलायो । करिब १२ वर्षपछिको ठूलो हिमपातले माघ र फागुन महिना उच्च पहाडी क्षेत्रको जनजिवन प्रभावित भयो ।

राजनितिक गतिबिधि
शिर्ष नेताहरुको जिल्ला आगमन र बेनी नगरपालिका ४ को प्राकृतिक तातोपानी कुण्डमा उनिहरुले स्नान गरेको घटना म्याग्दीमा मात्र नभएर राष्ट्रिय, अन्तराष्ट्रिय रुपमा चर्चीत बन्यो । पूर्व प्रधानमन्त्री तथा नेकपाका अध्यक्ष पुष्पकमल दाहाल, गृहमन्त्री रामबहादुर थापा बादल परिवारका सदस्य सहित तीन दिन सम्म सिंगा तातोपानीमा उपचारका लागि स्नान गर्नुभयो ।

फागुन अन्तिम साता बेनीमा पार्टी कार्यालय भवन उद्घाटनका लागि आउनुभएका नेपाली काँग्रेसका सभापति तथा पूर्व प्रधानमन्त्री शेरबहादुर देउवा, काँग्रेस नेता रामचन्द्र पौडेल, प्रवत्ता विश्वप्रकाश शर्माले पनि तातोपानी कुण्डमा स्नान गर्नुभयो । नेपाल कम्युनिष्ट पार्टीले एकता प्रक्रिया अन्तरगत स्थानीय तह र वडा स्तरमा कमिटि गठन ग¥यो । जिल्ला नेतृत्व टुङ्गो लाग्न बाँकी छ ।

राप्रपाका नेता भिमप्रसाद गौचन केन्द्रिय उपसभापतिमा मनोनित हुनुभयो । सरकारले म्याग्दीलाई हिमाली जिल्लामा सूचिकृत गरेको विषयलाई पनि जिल्लाका राजनीतिक्षहरुले महत्वपूर्ण उपलब्धि मानेका छन् । संघीय सरकारको महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्री थममाया थापा र गण्डकी प्रदेशको सामाजिक विकास मन्त्री नरदेवी पुनले पहुँचमा पुगेपनि जिल्लाको लागि अपेक्षाकृत योगदान गर्न नसकेको गुनासो सुनिन थालेको छ । पछिल्लो एक महिनायता सरकारले गतिबिधि गर्न प्रतिबन्ध लगाएको नेत्रबिक्रम चन्द समूहको गतिबिधिलाई पनि धेरैले चासोका साथ हेरे ।
प्रशासन– प्रशासनिक हिसावले वर्ष २०७५ म्याग्दीका लागि अस्थिर, अलमल र अन्यौलमै बित्यो । प्रदेश सरकार अन्तरगत वन डिभिजन, कृषि ज्ञान केन्द्र, भेटेरीनरी अस्पताल, जलस्रोत तथा सिँचाई, पूर्वाधार विकास, स्वास्थ्य, आयुर्वेद कार्यालय स्थापना भयो । राष्ट्रिय पुननिर्माण प्राधिकरणले बेनीमा जिल्ला आयोजना कार्यान्वयन इकाई स्थापना गरेपनि निजी आवास पुननिर्माणले अपेक्षाकृत गति लिन सकेको छैन् । अनुदान लिएर पनि निजी आवास नबनाउनेहरुका कारण पुननिर्माण प्रभावित बनेको छ ।

यसअघिको भुसंरक्षण, महिला तथा बालबालिका र खानेपानी तथा सरसफाई सब डिभिजन कार्यालय खारेज भयो । रेडियो म्याग्दीले बेनीमा आयोजना गरेको महोत्सव समयसिमा पालना नगरेको भन्दै प्रशासनले बन्द गरायो । उसै त दरबन्दि अनुसारका कर्मचारी नपाएर समस्या भेलिरहेका स्थानीय तहहरु समायोजनसंगै भएका कर्मचारी पनि सरुवा भएर जाने तर आउने कोही नभएपछि प्रभावित भएका छन् । वडा र गाउँपालिकाका कार्यालयमा दरबन्दि अनुसारका कर्मचारी अभावमा सेवा प्रवाह र विकास निर्माणमा असर परेको छ ।

बेनीको मंगलाघाट सब डिभिजन कार्यालयका प्रमुख राजकुमार ठाकुरलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले घुस लिएको रकम सहित रंगेहात पक्राउ ग¥यो । जिल्ला प्रशासन कार्यालयले स्थानीय तह र विषयगत कार्यालयसंगको समन्वयमा गुर्जा, लुलाङ, मराङ, देविस्थान, कुहुँ, कोटगाउँ, चिमखोला र शिखमा एकिकृत घुम्ति शिविर सञ्चालन गरेर गाउँमै सरकारी सेवा उपलब्ध गरायो ।

विकास निर्माण–विकास निर्माणको हिसावले म्याग्दी जिल्लाका लागि वर्ष २०७५ उपलब्धिमुलक बन्यो । लामो समयदेखि अलपत्र अवस्थामा रहेको ४० मेगावाट क्षमताको रघुगंगा जलविद्युत आयोजना निर्माणका लागि ठेकेदारले काम अघि बढाएको छ । हालै विद्युत खरिद बिक्री सम्झौता समेत भएको छ । अठार महिनामा सक्नुपर्ने राहुघाट जलविद्युत आयोजनाको आवास र प्रशासनिक भवन आठ वर्षमा पनि नसक्ने ठेकेदार कम्पनीसंग ठेक्का तोडियो ।

अन्नपूर्ण गाउँपालिकाको पोखरेबगरदेखि घार, खिवाङ, शिख हुदै चित्रे जोड्ने १८ किलोमिटर दुरीको सडक कालोपत्रे गर्ने आयोजना सुरु भयो । १६४ मेगावाट क्षमताको कालीगण्डकी गर्ज जलविद्युत आयोजनाका निर्माणका लागि चिनीया कम्पनीले लगानी गर्ने सम्झौता भयो । रोवष्ट इनर्जिले नारच्याङमा निर्माणाधिन ४२ मेगावाट क्षमताको मिस्त्रीखोला जलविद्युत आयोजनाको ८० प्रतिशत संरचना निर्माणको काम सकिएको छ ।

५ मेगावाटको घलेम्दीखोला जलविद्युत आयोजना निर्माणको अन्तिम चरणमा पुगेको छ । १४ मेगावाट क्षमताको घारखोला जलविद्युत आयोजना निर्माण सुरु भयो । प्रवासी म्याग्देलीहरुको अगुवाइमा २५ मेगावाट क्षमताको दरवाङ म्याग्दीखोला जलविद्युत आयोजना निर्माण सुरु भएको छ । मालिका गाउँपालिकाको डाँडाखेत र रातोढुङ्गामा विद्युत सब स्टेशन निर्माण सुरु भएको छ ।

डाँडाखेत देखि राहुघाट जोड्ने प्रशारण लाइन निर्माणको तयारी भएको छ । २२० केभी क्षमताको दाना सब स्टेशन र दाना–खुर्कोट प्रशारण लाइन निर्माणमा ढिलाई भएको छ । रत्नेचौर–बेनी, बेनी–गलेश्वर र बेनी–दरवाङ सडक आयोजनाको काम बजेट अभावमा अपेक्षाकृत रुपमा अघि बढ्न सकेको छैन् । बेनी–जोमसोम–कोरला सडक आयोजनाको काममा पनि निर्माण व्यवसायीको ढिलासुस्तीको कारण समयमै नसकिने चिन्ता बढेको छ ।

गत वर्ष धवलागिरी गाउँपालिकाको मराङमा सडक र धारापानीमा विद्युत सुबिधा पुग्यो । मालिका गाउँपालिकाको डाँडागाउँ र अन्नपूर्ण गाउँपालिकाको किन्दुमा पनि सडक पुग्यो । नेपाल टेलिकमले धवलागिरी गाउँपालिकाको केन्द्र मुनामा इन्टरनेट र मोवाइल सेवा विस्तार ग¥यो ।

गलेश्वरको राहुघाट, फापरखेत र बाबियाचौर स्थित म्याग्दी नदीमा मोटरेबल पुल निर्माण सुरु भएको छ । प्रदेश सरकारले सडक, सिचाई लगायत आयोजनामा ठूलो मात्रामा बजेट पठाएको छ । तर कार्यान्वयन सुस्त देखिएको छ । बेनी बजार संरक्षण आयोजना पर्याप्त बजेट अभावका कारण प्रभावित भयो । बर्खा लागेर कालीगण्डकीमा नदीको बहाव बढ्न थालेपनि उपभोक्ता समितिको ढिलासुस्तीले तटबन्ध निर्माण सकिएको छैन् ।

राम्चे, ओखरबोट, बरंजा, पिप्ले र भगवतीमा स्वास्थ्य चौकीको भवन निर्माण भयो । अन्नपूर्ण गाउँपालिकाको घरमा वडा कार्यालय भवन निर्माण भयो । बेनी अस्पतालको पचास शैया क्षमताको भवन निर्माण कार्य ठेकेदारको ढिलासुस्तीका कारण सुस्त भएको छ । विद्युत प्राधिकरणले शिख, घार, हिस्तान, राम्चे, बेगमा वितरण लाइन सुधार ग¥यो । मिलनचोक सब स्टेशनको ट्रान्सफर्मरको क्षमता बढाएपनि विद्युत आपुर्ती अनियमित हुने समस्याले सर्वसाधारण मर्कामा परेका छन् ।

पश्चिम नेपाल ग्रामिण खानेपानी तथा सरसफाई परियोजना मार्फत ताकम, बिम, ओखरबोट, रुम, बरंजा, कुहुँ र बाबियाचौरमा निजी धारा सहितको खानेपानी आयोजना निर्माण भयो । गत वर्ष बेग–बादुक जोड्ने नेपालकै लामो सहित जिल्लाका विभिन्न ठाउँमा ११ वटा झोलुङ्गे पुल निर्माण भयो ।

म्याग्दीको विकास, शिक्षा, स्वास्थ्य र परोपकारी क्षेत्रमा योगदान गर्दै आएका प्रवासी म्याग्देलीआवद्ध मोना, बेनी नगरपालिका र म्याग्दी उद्योग वाणिज्य संघले बेनी देखि लभ्लिहिल जोड्ने पदमार्ग निर्माण सुरु गरेका छन् । स्थानीय तहहरुले एक्साभेटर, ब्याकुहोलोडर लगायत निर्माण कार्यमा परिचालन हुने ठूला उपकरणको अधिकतम मूल्य निर्धारण गरेर मनोमानीमा नियमनको प्रयास गरेका छन् ।

आर्थिक क्षेत्र–आर्थिक रुपमा २०७५ मा केही उपलब्धि भएपनि बैङ्क तथा वित्तिय संस्थाहरुले तरलता अभावको सामना गर्नुप¥यो । म्याग्दी उद्योग वाणिज्य संघको अगुवाईमा म्याग्दी भ्रमण वर्ष २०७५ घोषणा भयो । बेनीको कालीपुलमा पर्यटक सूचना केन्द्र स्थापना भयो । तर भ्रमण वर्ष र सूचना केन्द्र प्रभावकारी बन्न सकेको छैन् । रेडियो म्याग्दीले बर्षान्तमा आयोजना गरेको रेडियो म्याग्दी पर्यटन महोत्सवमा प्रशासनले हस्तक्षेप गरेर समापन नहुदै बन्द भयो ।

सरकारले म्याग्दीको पुनहिल, घोरेपानी, गलेश्वर, तातोपानी, रुइसे क्षेत्रलाई स्थापीत र विकास गर्नुपर्ने पर्यटकीय गन्तब्यको रुपमा सूचिकृत ग¥यो । सत्तरी हजार जनाको हाराहारीमा विदेशी पर्यटकले अघिल्लो वर्ष म्याग्दीका पर्यटकीय स्थलहरुको भ्रमण गरे । जिल्लामा भित्र्ने पर्यटक बढेपनि उनिहरुको बसाई र खर्च गर्ने क्षमता घटेकोमा होटल व्यवसायी सन्तुष्ट छैनन् ।

उद्योग वाणिज्य संघले अन्नपूर्ण, मंगला र धवलागिरी गाउँपालिकामा इकाई विस्तार ग¥यो । मुक्तिनाथ र सेञ्चुरी बैङ्कले बेनी तथा ग्रिन डेभलपमेन्ट बैङ्कले दरवाङमा शाखा विस्तार गरे । जिल्लामा रेमिट्ेन्स भित्र्ने भन्दा बहिरिने क्रम बढेपछि बैङ्क तथा वित्तिय संस्थामा तरलता अभावको समस्या देखिएको छ । पश्चिम दरवाङ बचत तथा ऋण सहकारी लगायत पाँच वटा सहकारी संस्थाहरुको एकिकरण भयो । म्याग्दी, पर्वत र बागलुङलाई समेटेर सुन्तला जोन कार्यक्रम सुरु भयो ।

धान, मकै र गहुँ लगायत खाद्यान्न, सुन्तला र आलुको उत्पादन वृद्धी भयो । पर्यटकीय स्थल टोड्केमा रिसोर्ट सञ्चालन भयो । हरियाली ग्रुपले एकिकृत व्यवसायिक खेतीको अवधारणा अनुसार पशुपंक्षिपालन, फलफुल र तरकारी खेती, माछा र माहुरीपालनमा करोडौको परियोजना सुरु गरेको छ ।

सामाजिक क्षेत्र– वर्ष २०७५ मा सामाजिक क्षेत्रमा ठूला परियोजना तथा कार्यक्रम भित्रिएनन् । स्थानीय तहहरुले शिक्षा, स्वास्थ्यमा सुधार ल्याउन र सामाजिक विकृति न्युनीकरणका लागि विभिन्न गतिबिधि गरे । रघुगंगा गाउँपालिकाले मेलाजात्रालाई कडाई गर्न कानुन बनायो । अन्नपूर्ण गाउँपालिकाले एउटा वडामा वर्षमा एक पटक मात्र मेला लगाउन दिने नीति लियो ।

अन्नपूर्ण गाउँपालिकाले टेलिटिचिङ शिक्षण बिधी सुरु ग¥यो । धवलागिरी गाउँपालिकाले बालबिवाह न्युनीकरण अभियान सुरु गरेको छ । मालिका गाउँपालिकाले सामुदायिक विद्यालयमा छात्राको लागि सेनेटरी प्याडको व्यवस्था मिलाएको छ । मंगला र धवलागिरी गाउँपालिकाले शून्य दरबन्दिका विद्यालयलाई अनुदान उपलब्ध गराउन बजेट बिनियोजन गरेका छन् । जिल्लाका छ वटै स्थानीय तहले राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिता सञ्चालन गरे ।

म्याग्दी बहुमुखी क्याम्पसलाई क्युएए मान्यता प्राप्त गराउने प्रक्रिया अघि बढेको छ । शैक्षिक क्षेत्रमा आवश्यकताको महशुस गरिएको शिक्षक व्यवस्थापन र दरबन्दि मिलान हुन सकेको छैन् । भुकम्पले क्षति पुगेका २० वटा सामुदायिक विद्यालयको भवन निर्माण भैरहेको छ ।

अनेकन चुनौति, समस्या र उपलब्धीका बिच बिक्रम सम्बत २०७५ साल हामीबाट टाढा भइसकेको छ । विगतको समिक्षा गर्दै भविष्यप्रती सबै जिम्मेवार र उत्तरदायी बनौ । नववर्ष २०७६ सालको मंगलमय शुभकामना ।
प्रस्तुती : सन्तोष गौतम