असिनाले खेतीबाली नष्ट

  • १ बैशाख २०७६, आईतवार
  • 2197 पटक पढिएको

 

बेनी १ बैशाख । म्याग्दीको धवलागिरी गाउँपालिका ४ बगरमा शनिबार साँझ परेको असिनाले खेतीबाली नष्ट गरेको छ । बगर, नाउरा, सिम्कोश गाउँमा करिब तीस मिनेट परेको असिनाले गहुँ, जौ, उवा, केराउ लगायत हिउँदेबाली नष्ट गरेको हो । यसैगरी तरकारी, फलफुल, बर्खे मकै र आलुका बोट असिनाले चुटेर क्षति पु¥याएको कृषकहरुले बताएका छन् ।

पाकेर भित्र्याउने बेला भएको हिउँदेबाली असिनाले चुटेर नष्ट गरेपछि कृषकहरु निराश भएका स्थानीय नरप्रसाद पुनले बताए । ‘पाकेका बाली असिनाले चुटेर भुँईभरि झारेको छ’ पुनले भने ‘दुख गरेर फलाएको खेतीबाली नष्ट हुँदा चिन्तीत भएका छौ ।’

६० घरधुरी भन्दा बढी कृषकहरुको लाखौको क्षति भएको उनले बताए । यसअघि गत हप्ता मंगला गाउँपालिकाको ४ नम्बर वडामा पर्ने धापुङ, महेशगाउँ, बुकेनी, भित्रीवन, दुर्दीमा असिना सहितको बर्खाका कारण खेतीबालीका साथै सडक, खानेपानी र व्यक्तिका घरमा क्षति पुगेको थियो ।

असिनापछि आएको बाढीले चार घर जोखिममा परेको र अवरुद्ध सडक अझै सञ्चालन हुन नसकेको बरंजाका टिकप्रसाद रोकाले बताए । बाढीले खानेपानीको पाइप र मुहानमा क्षति पु¥याएपछि करिब दुई सय घरधुरी मर्कामा परेका छन् । असिना पिडित कृषकहरुले क्षतिपूर्ती र राहतको माग गरेका छन् ।