संस्कृतका ज्ञाता चन्द्रकान्त सांगीतिक गगनमा चम्कदै

  • २८ चैत्र २०७५, बिहीबार
  • 2000 पटक पढिएको


म्याग्दी २८ चैत । एउटा व्यक्ति कति क्षेत्रमा पोख्त हुनसक्छ ? यस प्रश्नको ठ्याक्कै उत्तर नभेटिन सक्छ । सायद उत्तर नभेटिने भएकोले नै हुनसक्छ धेरै प्रतिभाभएको व्यक्तिलाई बहुमुखी प्रतिभाको धनी व्यक्ति भनेर भनिन्छ । बागलुङको कुडुले (फेदी) स्थायी घर भै काठमाण्डौंलाई कर्मथलो बनाएका बहुमुखी प्रतिभाका धनी पण्डित चन्द्रकान्त पौडेल पनि यस्तै बहुमुखी प्रतिभाका धनी व्यक्तिहरुमध्येका एक हुन् । संस्कृत भाषाका ज्ञाता,प्रखर पण्डित, सिद्ध ज्योतिषी,पूर्विय दर्शनका व्याख्याता,नेपाल टेलिभिजनका कार्यक्रम प्रस्तोता चन्द्रकान्त पौडेल नेपाली गीत संगीतको क्षेत्रमा पनि चम्किदै गएका छन् ।


करिब डेढ दशक अघिदेखि सांगीतिक क्षेत्रमा पाइला टेकेका पौडेलको संगीत र स्वर रहेको पछिल्लो एल्वम ‘परदेशी’ले अहिले देश विदेशमा चर्चा पाएको छ । परदेशी हुने रहर कसलाई हुन्छ र? बाध्यताले पो देश छोड्ने हो । आफ्नै माटो आफ्नै बाटोसंग न चाहेरै नाता तोड्ने हो । यस्तै शब्द र भावले ओतपोत भएको ‘परदेशी’ गीतको एल्बम बजारमा ल्याएपछि पौडेलको सांगीतिक सामथ्र्य पनि उजागर भएको हो ।
दिब्या राईको शब्द र पौडेलको स्वर तथा संगीत रहेको यो एल्वमको गीत जति कर्णप्रिय र शब्दमा जति ओज छ यसको उद्धेश्य पनि उत्तिकै सह्रानीय रहेको छ । गीत बेचेर नाफा कमाउने उद्धेश्यले होइन यसबाट आएको ५० प्रतिशत रकम मृगौला पीडित रोगीहरुको उपचारमा खर्च गर्ने गायक पौडेलले बताएका छन् । उनले आफ्नै युट्युव च्यानल चन्द्रकान्त पौडेल बाट सो गीतलाई प्रसारण गरेका छन् ।
अंग्रेजी,संस्कृत,हिन्दी,नेपाली,बंगाली र भोजपुरी भाषामा दख्लल राख्ने पौडेल पछिल्लो समय गीत संगीत,संस्कृत भाषको उत्थान र पूर्विय दर्शनको प्रचारप्रसारमा लागेका छन् । संस्कृत साहित्य,व्याकरण र ज्योतिषमा आचार्य उत्र्तीण पौडेलको तर्ककला पनि बेजोडको रहेको उनलाई नजिकबाट चिन्नेहरुले बताएका छन् ।