खोपको पहुँच बढाउने बेनी नगरपालिकाको योजना

  • २५ चैत्र २०७५, सोमबार
  • 2128 पटक पढिएको

बेनी २५ चैत । बेनी नगरपालिकाले बालबालिकाको खोप सेवामा पहुँच बढाउने र छुट्ने दर घटाउन योजना बनाएको छ ।नगरपालिकाको स्वास्थ्य शाखाको आयोजनामा आइतबार र सोमबार बेनीमा भएको पूर्ण खोप नगरपालिका सुनिश्चितता र दिगोपनाका लागि नगरस्तरीय अभिमुखीकरण कार्यक्रममा योजना तयार पारिएको हो । म्याग्दीलाई तीन वर्षअघि पूर्णखोप युक्त जिल्ला घोषणा गरिएको थियो ।

खोप लगाउने समूहको पहिचान र उनिहरुलाई खोपको पहुँचमा ल्याएर विभिन्न संक्रामक रोगहरु लाग्नबाट बचाउने उद्देश्यले योजना तयार पारिएको नगरपालिकाको स्वास्थ्य शाखाका संयोजक लीला गौतमले बताउनुभयो ।

कार्यक्रममा नगर कार्यपालिकाका पदाधीकारी, सदस्य र नगरपालिका भित्र रहेका स्वास्थ्य संस्थाका प्रमुखहरुको सहभागिता रहेको थियो । गोष्ठिको गण्डकी प्रदेशको सामाजिक विकास मन्त्रालयका एकनारायण लम्साल, जिल्ला स्वास्थ्य प्रमुख भिमप्रसाद आचार्य र स्वास्थ्य शाखा संयोजक गौतमले सहजिकरण गर्नुभएको थियो ।