अर्मन स्वास्थ्य चौकीमा ‘फिजियोथेरापी’

  • २५ चैत्र २०७५, सोमबार
  • 1772 पटक पढिएको

 

बाबियाचौर २५ चैत । म्याग्दीको मंगला गाउँपालिका ५ मा रहेको अर्मन स्वास्थ्य चौकीमा ‘फिजियोथेरापी’ सेवा सुरु भएको छ । अपाङ्गता भएका व्यक्ति, जेष्ठ नागरिक, ढाड र हाडजोर्नी सम्बन्धी समस्या भएका बिरामीहरुलाई लक्षित गरेर फिजियोथेरापी सेवा सञ्चालन गरिएको हो ।

सेवा सञ्चालनका लागि अन्तराष्ट्रिय नेपाल फेलोशिप (आइएनएफ)को समुदायमा आधारित पुनःस्थापना कार्यक्रम (सिबिआर)ले उपकरण सहयोग गरेको छ । संस्थाका सुर्यबहादुर कुँवर र फिजियोथेरापिस्ट सुजन कार्कीले मंगला गाउँपालिकाका अध्यक्ष सतप्रसाद रोकाको उपस्थितीमा उपकरण हस्तान्तरण गरिएको थियो ।

फिजियोथेरापी सेवा सञ्चालनका लागि अर्मन स्वास्थ्य चौकीका प्रमुख सिनियर अहेव यामप्रसाद खरालले तालिम लिएका छन् । गाउँमै सेवा उपलब्ध भएपछि फिजियोथेरापीका लागि धेरै रकम खर्चेर बजारमा पुग्नुपर्ने समस्या हट्ने गाउँपालिकाको स्वास्थ्य शाखाका संयोजक बालकृष्ण शर्माले जानकारी दिए ।