बेनीमा हुने प्रथम पर्यटन महोत्सव चैत २३ गते देखि सुरु हुने

  • २० चैत्र २०७५, बुधबार
  • 2330 पटक पढिएको

बेनी, २० चैत । म्याग्दीको सदरमुकाम बेनीमा यही चैत २१ गते देखि सूरु हुने भनिएको प्रथम पर्यटन महोत्सव चैत २३ गतेदेखि मात्रै सुरु हुने भएको छ । रेडियो म्याग्दीले नयाँ बर्ष र रेडियोको बार्षित्सवको अवसरमा आयोजना गरिएको महोत्सव दुई दिन पछि सारिएको हो । बुधबार रेडियोकाे आयोजनामा गरेको पत्रकार सम्मलेन महोत्सवका मुल संयोजक चिरञ्जीवी शर्माले तराईमा हावाहुरीले पु¥याएको विपतीको समय र जिल्ला सुरक्षा समितिको आग्रहलाई स्विकार गरि निर्धारित समय भन्दा दुईदिन पछिबाट महोत्सव संचालन गरिएको जानकारी दिए ।


जिल्लास्थित राजनीतिक दल र ब्यवसायिहरुले समेत महोत्सवको समयअवधि छोट्याउन दिएको सुझावलाई मनन गर्दै महोत्सव छोट्याईएको शर्माले बताए । महोत्सवलाई ब्यवस्थित रुपमा संचालन गर्नका लागि १३ ओटा उपसमिति गठन गरिएको रेडियो संचालक समितिका सचिव ठाकुरप्रसाद शर्माले जानकारी दिए । रेडियोको ११ औँ बार्षिकोत्सवको अवसरमा ‘‘हाम्रो कला संस्कृतिको पहिचान तथा संरक्षण, साना तथा घरेलु उद्योगको प्रवद्र्धन’ भन्ने मुल नाराका साथ पर्यटन महोत्सव आयोजना गरिएको छ ।

स्थानीय तथा राष्ट्रिय स्तरका कलाकारहरुको साँस्कृतिक प्रस्तुती रहने महोत्सवमा खुल्ला लोकदोहोरी गीत प्रतियोगीता, म्याग्दी डान्स आइडलको रुपमा एकल नृत्य लगायतका प्रतियोगीता समेत समावेश गरिएको छ । खुला दोहोरी गीत प्रतियोगीतामा प्रथम, द्धितिय र तृतिय हुनलाई क्रमश ः नगद रु ५० हजार, २५ हजार र १० हजार पुरस्कार प्रदान गरिनेछ । भने नृत्य प्रतियोगीतामा क्रमशः रु २५ हजार, १० हजार र ५ हजार पुरस्कारको व्यवस्था गरिएको आयोजकले जानकारी दिए ।

बेनीको खुलामञ्चमा सञ्चालन हुने महोत्सवमा १०० वटा व्यापारिक स्टल रहनेछन् । स्थानीय उत्पादनका बस्तुहरुको प्रदर्शनी र प्रवद्र्धनको लागि आयोजकले १० वटा स्टल निःशुल्क उपलब्ध गराउने रेडियोका स्टेशन संयोजक एवम् महोत्सवका व्यवस्थापन संयोजक भरत रकालले जानकारी दिए । ‘‘ महोत्सवलाई हामिले जिल्लाको कला संस्कृतिको संरक्षण र संवद्र्धनको क्षेत्रमा केन्द्रित गर्दैछौँ, व्यवसायिक रुपमा मात्रै नभएर स्थानीय उत्पादनको प्रचार प्रसार र साना र घरेलु उद्योगको प्रवद्र्धनमा टेवा पु¥याउने हाम्रो उद्देश्यले महोत्सव आयोजना गरेका हुन् । महोत्सव अवधिभर १० लाख दर्शकले अवलोकन गर्ने र ५ करोडको कारोबार हुने अनुमान आयोजकको छ ।

महोत्सव उद्घाटनको दिन बेनीमा साँस्कृतिक झाँकी प्रदर्शन समेत हुनेछ । महोत्सवले म्याग्दी भ्रमण बर्षलाई सहयोग पुग्नुको साथै म्याग्दीका पर्यटकीय र धार्मिक स्थलहरुको प्रचार प्रसार र पर्यटन प्रवद्र्धनमा समेत टेवा पुग्ने देखिन्छ ।  ५८ लाख ८० हजारको आम्दानी खर्च हुने अनुमान गरिएको महोत्सवबाट बचत हुने रकमलाई रेडियोको संस्थागत विकास संगै जिल्लामा संचारकर्मी राहतकोष निर्माणमा परिचालन गरिने रेडियोले जनाएको छ ।