कालीगण्डकी नदीमा ठेकेदारको मनपरी

  • १८ चैत्र २०७५, सोमबार
  • धिरन खत्री
  • 2469 पटक पढिएको

धिरन खत्री

म्याग्दी, १८ चैत । म्याग्दीको रघुगंगा गाउँपालिका १ बेग र २ राख्ुको भुगोल भएर बग्ने कालीगण्डकी नदीमा मापदण्ड र सम्झौता विपरित ठेकेदारले मनपरी ढंगले नदीजन्य बस्तुको उत्खनन् गरेका छन् ।

रघुगंगा गाउँपालिकाले ठेक्का लगाएको तिप्ल्याङको कालीओढार, भिरकाटे, बेगखोला, ठाडिखोरिया, कुनौटा र रिठाबोट क्षेत्रमा सम्झौतामा उल्लेखित मापदण्ड विपरित उत्खनन् भएको छ ।

ठेक्का लागेको बाहेकका बगरमा पनि ठेकेदारले आफूखुसी नदीजन्य पदार्थको उत्खनन् र प्रयोग गरेको छ । कालीगण्डकी कोरीडोर अन्तरगत बेनी–जोमसोम–कोरला सडक आयोजनाको गलेश्वर–नारच्याङ पुल खण्डको ठेकेदार कम्पनी युनाइटेड बिल्डर्सले गाउँपालिकासँग नदीजन्य बस्तु उत्खनन् गर्ने सम्झौता गरेको थियो ।

गाउँपालिकाका अध्यक्ष भवबहादुर भण्डारी, वडा अध्यक्षहरु बिलबहादुर फगामी, रिमबहादुर कटुवाल, जिवन मल्ल र प्राबिधिक कमल चोखाल सहितको अनुगमन टोलीले प्रारम्भिक वातावरणीय सर्वेक्षण र ठेक्का नभएको बगरबाट समेत ढुङ्गा, गिट्टी र बालुवा उत्खनन् गरेको भेटिएको जनाएको छ ।

सम्झौता भएको ठाउँमा बढीमा दुई फिट सम्म खनेर नदीजन्य बस्तु निकाल्न पाउने भएपनि त्यो भन्दा बढी खनेको पाइएको अध्यक्ष भण्डारीले बताएका थिए । १४ हजार घनमिटर नदीजन्य बस्तु निकाल्न पाउने ठेक्का सम्झौता भएपनि मापदण्ड भएको ठाउँमा बाट निकाल्ने प्रावधान रहेको छ ।

युनाइटेड विल्डर्सले सम्झौता अनुसार परिणामको नदीजन्य बस्तु निकाल्न ठेक्का नलागेको ठाउँबाट पनि उत्खनन् गरेको भण्डारीको दावी छ ।अनुगमन टोलीले ठेकेदार कम्पनीलाई जथाभावी उत्खनन् नगर्न र ठेक्का लागेको बगरमा मात्र तोकिएको परिणाम तथा मापण्डको नदीजन्य बस्तु उत्खनन गर्न सचेत बनाएको छ । ठेक्का नलागेको ठाउँबाट उत्खनन् गरिएको नदीजन्य बस्तुको मूल्याङ्कन गरेर जरिवाना तिराउने गाउँपालिकाले जनाएको छ ।

ठेकेदार कम्पनीलाई सडक विस्तारका क्रममा निस्कीएको माटो जथाभावी नफाल्न र वन क्षेत्रमा जथाभावी उपकरण प्रयोग गरेर वातावरणीय असर पर्ने गरी सडक विस्तार नगर्न सचेत बनाएको अनुमगन टोलीमा सहभागि गाउँपालिकाका प्रवत्ता जिवनकुमार मल्लले बताए ।

विकास आधार मानिने सडक निर्माणमा निश्चित मापदण्डसम्म कालीगण्डकीको ढुङ्गा र बालुवा निकाल्न पाईन्छ। तर वातावरणीय परिक्षण नभएको बगरमा स्थानीय सरकारसंग समन्वय नगरि उत्खनन् गर्नु राज्यको सम्पतीमाथि विकास नाममा दोहन र कमाउने शैली प्रयोग भएको देखिन्छ ।

धिरन खत्री

म्याग्दी अनलाईन डट् कमका संवाददाता हुन् l