बारा र पर्सामा भीषण हावाहुरीको बितण्डाः मृत्यु हुनेको संख्या ३२ पुग्यो, ४ सय बढी घाईते

  • १८ चैत्र २०७५, सोमबार
  • 1759 पटक पढिएको

बारा, १८ चैत । बारा र पर्सामा गयराती आएको भीषण हावाहुरीका कारण मृत्यु हुनेको संख्या ३२ जना पुगेको छ । आइतबार राति आठ बजेतिर एक्कासि आएको आँधी सहितको हावाहुरीबाट बारामा २७ र पर्सामा पाँच जनाको मृत्यु भएको हो प्रहरीले जनाएको छ ।


हावाहुरीका कारण सबैभन्दा बढी क्षति बाराको फेटा गाउँपालिकामा भएको छ । हावाहुरीबाट घरहरु तहस नहस भएकाले मृतकको संख्या थपिनसक्ने बताइएको छ । मृत्यु हुनेमा बढी बालबालिका र वृद्धवद्धा रहेका छन् । हावाहुरीले घर भत्काउँदा अधिकांशको घर र छानाले च्यापिएर मृत्यु भएको प्रहरीले जनाएको छ । घाइतेहरुलाई बाराको कलैया, वीरगञ्जस्थित नारायणी उपक्षेत्रीय अस्पताल र नजिकको अस्पताल पु¥याएर उपचार भइरहेको छ । घाइतेको संख्या धेरै भएकाले उपचारमा समेत समस्या परेको छ ।

यसैबीच प्रधानमन्त्री केपी शर्मा ओलीले घटनाप्रति दुःख व्यक्त गरेका छन् । प्रधानमन्त्री ओलीले मृत्यु वरण गर्नेहरुप्रति शोक व्यक्त गर्दै शोकाकुल परिवारमा गहिरो समवेदना प्रकट गरेका छन् । उनले उद्दारमा जुट्न र उपचारमा कुनै कमी हुन नदिन सम्बद्ध निकायलाई निर्देशन दिएका छन् ।