मानवताको नमुना दम्पती, जस्ले हुर्काए जन्म लगत्तै आमा गुमाएका बालक (भिडियो सहित)

  • १५ चैत्र २०७५, शुक्रबार
  • कमल खत्री
  • 2919 पटक पढिएको

कमल खत्री

म्याग्दी १५ चैत । आमाको अभाबमा नवजात शिशुको पालन पोषण कति कठिन होला ? सहजै अनुमान लगाउन सकिन्छ, यस्तो काम कठिन मात्रै होईन जोखिमपूर्ण पनि हो । तर म्याग्दीको धवलागिरी गाउँपालिका–५ मल्कबाङका मनमती र हनमान श्रीपालीका दम्पतीले जन्म लगत्तै आमा गुमाएका एक बालकलाई हुर्काएका छन् ।

भिडियाे ः

१५ बर्ष अघि छोराको जन्मदिए लगत्तै स्थानीय असारे (सेती) लामगाडेको निधन भएपछि उनको छोरा योगेन्द्रको हुकाई बढाई श्रीपाली दम्पतीले गरेका हुन् । बच्चालाई जन्म दिएकै दिन आमाको निधन भएपछि उनका अन्य छोराछोरीहरु समेत स–साना भएकाले उनका घरपरिवार र आफन्तले नवजात शिशुको जिम्मा श्रीपाली दम्पतीलाई लगाएका थिए ।

यिनै श्रीपाली दम्पतीले ती बालकलाई बिगत १५ बर्षदेखि पालनपोषण र पढाइ लेखाई गराउँदै आएका छन् । नाता सम्बन्धले भाञ्जा पर्ने भएपनि योगेन्द्र्रलाई उनीहरुले आफ्नो छोरा सरह नै हुर्काए । योगेन्द्र्रले समेत उनीहरुलाई आफ्नो बुबा आमा नै भनेर बोलाउने गर्छन् । उनलाई आफ्नो जन्म दिने आमाको मृत्यु भएको कुराको कुनै अनुभुति नै छैन् । ‘‘ मेरो आमा बुबा नै उहाँहरु हो, उहाँहरुलाई छाडेर म कतै जान सक्दिन श्रीपाली दम्पतीलाई देखाउँदै उनले भने‘ जन्मदिने आमाको मृत्यु भएको सुनेको छु, उहाँलाइृ देख्न पाईन’ ।

मल्कबाङबासी श्रीपाली दम्पती बिगत १० बर्षदेखि बेनी नगरपालिका–१० पात्लेखेतमा बस्दै आएका छन् । उनीहरुका चार जना छोरीहरु छन् । योगेन्द्रलाई आफ्नै परिवारको सदस्यको रुपमा हुर्काएका श्रीपाली दम्पती उनलाई छोराकै रुपमा आफुहरुसंगै राख्न चाहन्छन् । जन्म भएकै दिन आमा गुमाएका योगेन्द्रलाई हुर्काएका श्रीपाली परिवारको कार्य मानविय सेवाको क्षेत्रमा प्रसंसायोग्य रहेको राष्ट्रिय जनजागृति मावि मल्कबाङका शिक्षक हरि छन्त्यालले बताए ।
                      दुई सन्तानलाई एकसाथ हुर्काएँ : मनमती
जम्मेकै दिनमा आमा गुमाएका योगेन्द्रलाई हुर्काउने जिम्मा लिँदा मनमतीको काखमा ८ महिनाकी छोरी थिइन् । तैपनि जन्मेकै दिनबाट आमाको काख संधैका लागि गुमाएका योगेन्द्रलाईहुर्काउने कुनै विकल्प ननिस्कीएपछि मनमायाँले उनलाई हुर्काउने जिम्मा लिइ्न् । ‘‘ यो बच्चा बाच्ला भनेर कसैले सोचेका थिएनन्, ‘मरे फाल, बाँचे पाल’ भनेर सबैले सुम्पिए, त्यो बेलाको दरदर्नाक पिडा देख्न नसकेर हुर्काउन थाँले’’–उनले भनीन् । आफ्नो काखको छोरी र उनलाई एउटै सन्तान मानेर उनले हुर्काइन् ।

पुस माघको चिसोमा दुई नानीहरुको हेरचाह गर्न नसक्दा आफु रातमा निदाउन समेत नसकेको उनले बिगत सम्झिइन् । ‘‘ एउटालाई दुध खुवाएर सुताउछु अर्को रुन्छ, आमाको मन के गरेर भुल्छन भनेर रातभरी अनेक कोसीस गर्दागर्दै उज्यालो हुन्थ्यो’’ आँखाबाट आँसु खसाल्दै मनमायाँले बिगत सुनाईन् । योगेन्द्रकाको घरपरिवारले समेत श्रीपाली दम्पतीले आफ्नो परिवारमा आएको कठिन समयमा भगवानको भुमिका खेलेको भन्द्र प्रसंसा गरेका छन् । ‘‘ भाई बाँचेर आज हामीले देख्न पाएका छौँ, अहिलेसम्म उहाँहरुले नै सबै हुकाई र पढाई गराउँदै आउनुभएको छ, अब भाई ठुलो भएर उहाँहरुको सेवा गरेको र साहारा बनेको हेर्न चाहन्छौँ, अबका दिनमा भाईको पढाईमा हामीबाट पनि सहयोग हुन्छ’’–उनका दाई प्रेम लामगाडेले भने ।
                                 पहिलो पटक आफ्नै बुबा देखे
बेनी नगरपालिका–१० पात्लेखेतमा रहेको दिपक माविमा कक्षा ७ मा अध्ययनरत योगेन्द्रले जिवनमा पहिलो पटक आफ्नै बुबालाई यसै सातामात्रै भेट्न पाए । जन्मेको तीन दिन देखिनै मनमती र हनुमान श्रीपाली दम्पतिको माया ममतामा हुर्किएका उनको शैक्षिक प्रमाणपत्र र नागरिकतामा कुन थर लेख्न लगाउने भन्ने बिषयमा मत बाझिएपछि जिल्ला प्रशासन कार्यालयमा भएको छलफलमा उनले पहिलो पटक आफ्नो बुबा चन्द्रबहादुर लामगाडेलाई भेटेका हुन् ।

योगेन्द्र्र जन्मेको तीन दिनदेखि नै श्रीपाली परिवारको आश्रयमा हुर्किए । उनी हुर्किदै जाँदा उनका बुबा चन्द्र बहादुर र घरपरिवारका अन्य सदस्य नत निरन्तर रुपमा उनीसंग नजीक रहेर पारिवारीक माया ममता दिन सके ? नत पारिवारीक नाता सम्बन्धको अनुभुति नै दिन सके । योगेन्द्र ४ बर्षको हुँदा श्रीपाली दम्पती मल्कबाङदेखि पात्लेखेतमा बसाईसराइ गरेपछि उनका घरपरिवारसंगको भटघाट नै बन्द जस्तै भयो । शुक्रवार प्रशासन कार्यालयमा आफ्नो कर्म दिने बुबा आमाको साथ आएका उनले चन्द्र बहादुरलाई पहिलो पटक भेटे । ‘‘ उहाँ मेरो बुबा हुनुहुँदो रहेछ, अहिलेसम्म मलाई भेट्न आउनुभएको थिएन, मैले पनि देखेको थिइन’’– उनले भने ।
                            ‘थर बुबाको, अभिभाबकत्व श्रीपाली दम्पतीको’
एउटा घरमा जन्मिए अर्को घरमा हुर्किए योगेन्द्र्र । तर अहिले योगेन्द्रको थर के राख्ने ? भन्ने बिषयमा उनका आफन्तबिच मत बाझियो । उनलाई हुर्काउँदै आएका श्रीपाली दम्पती आफुहरुले उनलाई धर्मछोराको रुपमा जिम्मा लिएको र उनलाई हुर्काएको बताउँदै आफ्नै थर राख्न चाहन्छन् । यता उनका आफ्नै बुबा चन्द्रबहादुर उनलाई आफ्नै बंशको थर राख्न र आफ्नै नामबाट नागरिकता दिन चाहन्छन् ।

यस बिषयमा प्रमुख जिल्ला अधिकारी लिलाधर अधिकारीले दुबै पक्षलाई संगै राखेर छलफल गराएर मेलमिलाप गराएका छन् । बच्चाको बाबु पत्ता लागेको सन्दर्भमा उनलाई अरु कसैको पनि थर राखेर नागरिकता लगायत अन्य कुनैपनि कागजपत्र दिन नमिल्ने कानुनी प्रावधान रहेकाले उनलाई नागरिकता उनकै बुबाको नामबाट दिईनेछ । बुबाको नामबाट नागरिकता दिइने भएपनि उनको जन्मदेखि नै हुकाई र पालनपोषण श्रीपाली दम्पतीबाट हुँदै आएकाले उनको संरक्षकत्व समेत बालककै चाहना बमोजिम श्रीपाली दम्पतीको परिवारमा राख्ने गरि उनीहरुलाई समझदारी बनाएको प्रजिअ अधिकारीले बताए ।

‘‘ वास्तवमा आफ्नो जम्म भएकै दिन आमा गुमाएका ति बालकलाई हुर्काउने श्रीपाली दम्पती महान हुन्, बालकले पनि उनीहरुसंगै बस्न चाहना राखेकाले हामीले कानुनी र व्यवहारिक दुबै पक्षलाई हेरेर उनीहरुलाई छलफल गराएर पठायौँ’’– उनले भने ।

कमल खत्री

म्याग्दी अनलाईन डट् कमका सम्पादक हुन् l