वडा अध्यक्षसहित तीन जना जनप्रतिनिधि एसइईमा सहभागि

  • १० चैत्र २०७५, आईतवार
  • 1797 पटक पढिएको

धिरन खत्री
म्याग्दी, १० चैत । आईतवारदेखि सुरु भएको माध्यमिक शिक्षा परीक्षा (एसइइ) मा म्याग्दीमा एक वडा अध्यक्ष सहित ३ जना जनप्रतिनिधिले समेत सहभागिता जनाउनुभएको छ । म्याग्दीको अन्नपुर्ण गाउँपालिका–८ राम्चेका वडाअध्यक्ष खमबहादुर गर्वुजा र महिला वडा सदस्यद्धय गेममाया पुन र देवकुमारी खोरजा पुन एसइइमा सहभागि हुनुभएको हो ।


बेनीको प्रकाश माविमा रहेको खुला  विद्यालयबाट एसइइ परिक्षामा सहभागी हुनुभउका ५० बर्षका वडा अध्यक्षम गर्वुजाले एसइइ उर्तिण गर्ने लक्ष्य पुरा गर्न परिक्षामा सामेल भएको बताउनुभयो । २०४४ सालमा एसएलसी दिएपनि गणित विषयमा उर्तिण हुन नसेकेपछि पढाइ छाड्नुभएका गर्वुजाले ३१ बर्षपछि एसइइमा सहभागि हुनुभएको हो ।


नागीमा रहेको हिमाञ्चल माध्यमिक विद्यालयका शिक्षकहरुले गाउँमा शिक्षाको अबस्था सुधार गर्न जनप्रतिनिधिहरुले समेत एसइइ पास गर्नुपर्ने सुझाब दिएपछि आफुहरुले समेत तयारी गरि परिक्षामा सहभागी भएको वडा अध्यक्ष गर्वुजाले बताउनुभयो । तीनै जना जनप्रतिनिधिले बेनी सामुदायिक माध्यमिक विद्यालयमा रहेको परिक्षा केन्द्रबाट परिक्षामा सहभागी हुनुभएको केन्द्राध्यक्ष नगेन्द्र बहादुर खत्रीले जानकारी दिनुभयो ।


त्यस्तै म्याग्दीमा दुईजना दृष्टिविहिन विद्यार्थीहरुले समेत एसइइ परिक्षामा सहभागि भएका छन् । रघुगंगा गाउँपालिका–३ मौवाफाँटमा रहेको ज्ञानोदय माविमा सञ्चालित दृष्टिविहिन स्रोत कक्षाबाट दृष्टिविहिन भरत रिजाल र लक्ष्मण बुढाथोकीले मुक्तिधाम मावि भगवतीको परिक्षा केन्द्रबाट सहयोगी मार्फत परिक्षामा सहभागीता जनाउनुभएको छ ।


जिल्लामा परिक्षा सञ्चालन भएका ९ वटा केन्द्रमा ६ जना परिक्षा अनुपस्थित रहेको र २ हजार २ सय ३६ जनाले परिक्षामा सामेल भएको शिक्षा विकास तथा समन्वय इकाइका प्रमुख दलबहादुरले थापाले जानकारी दिनुभयो ।
म्याग्दीका सबै परिक्षा केन्द्रमा सेनेटरी प्याडको व्यवस्था सहित प्राथमिक उपचारको प्रवन्ध मिलाईएको छ । गण्डकी प्रदेशको सामाजिक विकास मन्त्रालयको सहयोगमा जिल्लामा रहेका ९ वटै परिक्षा केन्द्रमा परिक्षाको समयमा महिनावारी हुने छात्राहरुको सहजताका लागि सेनेटरी प्याडको व्यवस्था मिलाइएको हो ।