सिंगामा पाँच सिँचाइ आयोजना निर्माण शुरु

  • १० चैत्र २०७५, आईतवार
  • 2307 पटक पढिएको

म्याग्दी, १०चैत ।बेनी नगरपालिकाका–४ सिंगामा चार वटा लिफ्ट प्रविधिसहित पाँच सिँचाइ आयोजना शुरु भएको छ । खाद्यबाली, तरकारी र फलफूल उत्पादनका लागि म्याग्दी नदीको पानी तानेर सिँचाइ गर्न लिफ्ट प्रविधि शुरु गरिएको वडा कार्यालयले जनाएको छ । खेतीयोग्य जमीन बाँझो हुन नदिन र रोजगारी तथा आयआर्जनको अवसर सिर्जना गर्न सिँचाइ पूर्वाधार तयार पार्न लागिएको वडाध्यक्ष गोविन्द पौडेलले बताउनुभयो ।

सो कार्यका लागि सुर्केमेलामा रू १० लाख, सिंगाको कुना तालका लागि रू नौ लाख, ठूलोखोलाका लागि रू तीन लाख र तातोपानीका लागि रू पाँच लाख विनियोजन गरिएको छ । सुर्केमेलास्थित म्याग्दी नदी किनारमा पानी सङ्कलनका लागि इनार खन्ने र विद्युतीय उपकरण राख्ने घर पनि निर्माण गरिएको छ ।

कुनातालमा केही दिनमै इनार खन्न शुरु गरिने उपभोक्ता समितिले जनाएको छ । विद्युतीय उपकरणबाट उक्त नदीको पानीलाई तानेर खेतमा बाह्रै महीना सिँचाइ सुविधा उपलब्ध गराइने कुनाताल लिफ्ट सिँचाइ आयोजना उपभोक्ता समितिका अध्यक्ष डिल्लीराज पौडेलले बताउनुभयो । बास्कुनामा पाँच वर्षदेखि अधुरो बनेको तीन हजार लिटर क्षमताको पोखरी निर्माणलाई पनि पूर्णता दिन लागिएको छ । सुन्तलाको पकेट क्षेत्र बास्कुनामा सिँचाइ सुविधाका लागि २०७१ मा पोखरी निर्माण शुरु भएको थियो ।

नगरपालिकाबाट पाँच लाख र सङ्घीय सांसद भूपेन्द्र थापाको सिफारिशमा निर्वाचन क्षेत्र पूर्वाधार विकास कार्यक्रमबाट रु पाँच लाख विनियोजन भएपछि ती योजनालाई पूर्णता दिन लागिएको उपभोक्ता समितिका अध्यक्ष भीम थापाले बताउनुभयो । पोखरी निर्माणमा स्थानीयवासी लालबहादुर केसीले रु पाँच लाख सहयोग गर्नुभएको छ । पाँच वर्षअघि बेनी नगरपालिकाको रू पाँच लाख, वन कार्यालयको रू ४५ हजार, भू–संरक्षण कार्यालयको रू ५० हजार र थामडाँडा सामुदायिक वन उपभोक्ता समूहको रू ५० हजारसहित अन्य निकालयको रू १२ लाख सहयोगमा पोखरी खनिएको थियो ।

सत्र मिटर लम्बाइ, आठ मिटर चौडाइ र दुई मिटर गहिराइ भएको सो पोखरी निर्माणको अन्तिम चरणमा पुगेको छ । अबको एक महीनाभित्र प्रयोगमा ल्याउने तयारी गरिएको यो पोखरीबाट बास्कुनाका ४१ घरधुरी लाभान्वित हुने स्थानीयवासी शेरबहादुर केसीले बताउनुभयो । “पाँच सय रोपनीभन्दा बढी सुन्तला बगैँचामा सिँचाइ सुविधा पुग्छ”, केसीले भन्नुभयो, “छहरेखोलाको पानी पोखरीमा सङ्कलन गरेर बगँैचामा सिँचाइ गर्न लागिएको हो ।”