उद्योग वाणिज्य संघद्धारा रुइसे र बेगको लामो पुलमा पर्यटन प्रर्वद्धन (फोटो फिचर)

  • ९ चैत्र २०७५, शनिबार
  • कमल खत्री
  • 2676 पटक पढिएको

कमल खत्री
म्याग्दी ९ चैत । म्याग्दी उद्योग वाणिज्य संघले जिल्लामा रहेका पर्यटकीय स्थलहरुमा पर्यटन प्रवद्र्धन गर्ने अभियान चलाएको छ । शनिबार रघुगंगा गाउँपालिकाको प्रमुख पर्यटकीय स्थल रुइसे र बेग–बाँदुक जोड्ने नेपालकै लामो झोलुङ्गे पुलमा पर्यटन प्रर्वद्धन कार्यक्रम गरिएको छ ।

संघको अगुवाईमा सञ्चालित म्याग्दी भ्रमण वर्ष २०७५ अन्तरगत जिल्लाको सबै स्थानीय तहमा रहेका मुख्य पर्यटकीय स्थलहरुमा पुगेर पर्यटन प्रवद्र्धनमा सघाउने अभियान सुरु गरिएको संघका अध्यक्ष उक्तम कुमार कर्माचार्यले जानकारी दिनुभयो ।

उहाँले पर्यटकीय स्थलहरुको अवस्था, समस्या, योजना र सम्भावनाको अध्ययनका साथै प्रचारप्रसारमा सघाउने उद्देश्यले उद्योग वाणिज्य संघको टोलीले रुइसे र बेगखोलामा प्रर्वद्धनात्मक कार्यक्रम गरेको बताउनुभयो । नेपाल सरकारले घोषणा गरेको १०१ नयाँ पर्यटकीय गन्तव्यको सुचिमा सुचिकृत रुईसे क्षेत्रमा पर्यटन पूर्वाधार तयार भैरहँदा यस क्षेत्रमा भ्रमणमा जानेहरुको सख्ंया बढ्दो क्रममा छ ।

समुन्द्री सतहदेखि दुई हजार २७० मिटरको उचाइमा रहेको रुइसे क्षेत्रबाट हिमशृङखलाको मनमोहक दृष्य अवलोकन गर्न सकिने सकिन्छ भने ३६५ दशमलब ८ मिटर लामो बेगखोलाको झोलुङ्गे पुल नेपालकै लामो पुल हो । रुइसेमा आयोजित कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघको गण्डकी प्रदेश सदस्य कुबिर कुमार श्रेष्ठले सदरमुकाम बेनीदेखि नजीकको दुरीमा रहेको रुइसेसम्म ट्रयाक निर्माण भएको सडकको स्तरोन्नती र खाना र बस्नको लागि होटलको पूर्वाधार तयार गर्न सके उत्कृष्ट पर्यटकीय गन्तव्य बन्न सम्भावना रहेको बताउनुभयो ।

उहाँले पर्यटकीय स्थलमा पूर्वाधार निर्माण र लगानी भित्र्याउनको लागि उचित बातावरण सिर्जना गर्नका लागि स्थानीय तहले प्राथमिकता दिनुपर्ने बताउनुभयो । बेनी नगरपालिका ७ का वडा अध्यक्ष राजेन्द्र श्रेष्ठ र नेपाल पत्रकार महासंघ म्याग्दी शाखाका उपाध्यक्ष ठाकुरप्रसाद आचार्यले पर्यटन विकासका लागि समुदायको चासो र अनुकुल वातावरण आवश्यक पर्ने बताउनुभयो । उद्योग वाणिज्य संघको टोलीलाई भगवतीका वडा अध्यक्ष रिम कटुवालले रुइसेमा भ्यु टावर, पदमार्ग, पिकनिक स्पोट लगायत पूर्वाधार निर्माण सुरु गरिएको जानकारी गराउनुभएको थियो ।

रुइसे र बेगको लामो पुललाई जोडेर पदमार्ग निर्माण गर्ने र पर्यटन पूर्वाधार तयार गरि प्रचार प्रसारमा स्थानीय तह र सबै सरोकारवाला जुट्न सके यस क्षेत्रलाई पर्यटकको रोजाईमा पार्न सकिने म्याग्दी उद्योग बाणिज्य संघका द्धितिय उपाध्यक्ष राजेश शाक्यले बताउनुभयो । म्याग्दी उद्योग वाणिज्य संघले म्याग्दीका ६ वटै स्थानीय तहका मुख्य मुख्य पर्यटकीय स्थलमा पुगेर प्रर्वद्धनात्मक कार्यक्रम गरिने जनाएको छ ।

कार्यक्रमको सञ्चालन म्याग्दी उद्योग वाणिज्य संघका कार्यालय सचिव दिलीप पुनले गर्नुभएको थियो । भ्रमण वर्षको प्रचारका लागि उद्योग वाणिज्य संघले यसअघि पाल्पा, बुटवल, चितवन, मकवानपुर, काभ्रे र काठमाडौमा पुगेर कार्यक्रम गरेको थियो ।

कमल खत्री

म्याग्दी अनलाईन डट् कमका सम्पादक हुन् l