पूँजिगत खर्च किन न्यून ?

  • ९ चैत्र २०७५, शनिबार
  • 1727 पटक पढिएको

 


म्याग्दी ९ चैत । चालू आर्थिक वर्ष २०७५/७६ को दोस्रो चौमासिकसम्मको अवधिमा म्याग्दीमा रहेका संघीय सरकारका कार्यालयले करिब आधा र प्रदेशका कार्यालयले एक चौथाई भन्दा पनि कम पुँजीगत बजेट खर्च गरेका छन् ।

संघीय सरकार मातहतका कार्यालयका तुलनामा प्रदेशका निकायमा धेरै बजेट बिनियोजन भएपनि खर्च गर्ने क्षमतामा कमजोर देखिएका छन् । कोष तथा लेखा नियन्त्रक कार्यालय म्याग्दीका अनुसार गण्डकी प्रदेशका ९ वटा कार्यालयहरुमा चालू आर्थिक वर्षमा पूजीगततर्फ ६० करोड ६४ लाख, १५ हजार रुपैयाँ बिनियोजन भएकोमा फागुन मसान्तसम्म नौ करोड ७७ लाख ३९ हजार ६९१ रुपैयाँ खर्च भएको छ ।

प्रदेशका कार्यालयहरुले पुँजीगततर्फ बिनियोजन भएको मध्य १६.११ प्रतिशत बजेट खर्च गरेका छन् । यसैगरी प्रदेशका कार्यालयमा चालू तर्फ बिनियोजन भएको २२ करोड ७४ लाख ९३ हजार रुपैयाँ मध्य फागुनसम्म पाँच करोड २८ लाख ९२ हजार ५७७ रुपैयाँ अथवा २३.२५ प्रतिशत खर्च गरेका छन् ।

सबैभन्दा धेरै बजेट भएको पूर्वाधार विकास कार्यालयले पूजीगततर्फ बिनियोजन भएको ५२ करोड ४४ लाख ६६ हजार रुपैयाँ मध्य आठ महिनाको अवधिमा आठ करोड ४४ लाख ९४ हजार २५२ रुपैयाँ खर्च भएको छ । जलस्रोत तथा सिचाई विकास डिभिजन कार्यालयमा पूजीगतर्फ बिनियोजन भएको छ करोड ३३ लाख दश हजार रुपैयाँ मध्य एक करोड ३० लाख ९९ हजार १३७ रुपैयाँ खर्च भएको छ ।

कार्यालय स्थापना हुन, कार्यक्रम र अख्तियार आउन ढिलाई भएको र दरबन्दि अनुसारका जनशक्तिको अभावका कारण बजेट परिचालनमा समस्या भएको सम्बन्धित कार्यालयका प्रमुखहरुको भनाई छ ।

यसैगरी संघीय सरकार अन्तरगतका २४ वटा कार्यालयमा पूजीगतर्फ बिनियोजन भएको १९ करोड ७३ लाख ३६ हजार मध्य आठ महिनाको अवधिमा एक करोड ६३ लाख ७६ हजार ९९६ रुपैयाँ खर्च भएको कोलेनिकाका सूचना अधिकारी विकास पौडेलले जानकारी दिए ।

यसैगरी संघतर्फका कार्यालयकाका लागि चालुतर्फ बिनियोजन भएको दुई अरब एक करोड २७ लाख ५७ हजार ७७८ रुपैयाँ मध्य फागुनसम्म ५४.१३ प्रतिशत अथवा एक अरब आठ करोड ९५ लाख ७३ हजार ३६० रुपैयाँ खर्च गरेका छन् ।