धवलागिरी गाउँपालिकामा राष्ट्रिय गौरवका आयोजना सञ्चालन गर्न सिफारिस

  • ९ चैत्र २०७५, शनिबार
  • सन्तोष गौतम
  • 1772 पटक पढिएको

 


म्याग्दी ९ चैत । भौगोलिक रुपमा विकट र दुर्गम क्षेत्रमा अवस्थित म्याग्दीको धवलागिरी गाउँपालिकाले राष्ट्रिय गौरवका पूर्वाधार आयोजना सञ्चालन गर्न संघीय सरकारलाई सिफारिस गरेको छ ।गाउँपालिकाका अध्यक्ष थमसरा पुनको अध्यक्षतामा शुक्रबार गाउँपालिकाको मुना स्थित कार्यालयमा बसेको कार्यपालिका बैठकले संघीय सरकारको आग्रह अनुसार सडक तथा यातायात, विद्युत, भवन योजना सञ्चालनका लागि सिफारिस गरेको हो ।

सडक यातायाततर्फ तीन, झोलुङ्गे पुलतर्फ चार, पाँच वटा वडामा केन्द्रीय प्रशारण लाइन बिस्तार, दुई वटा भवन योजना सिफारिस गर्ने निर्णय भएको गाउँकार्यपालिकाका प्रवत्ता झकबहादुर छन्त्यालले जानकारी दिए ।वडा न. २ लुलाङदेखि वडा न. १ गुर्जालाई यातायात सुबिधाका लागि केवलकार निर्माण गर्न, दरवाङ–ताकम–मुना–लुलाङ–जलजला–ढोरपाटन हुदै रुकुम जोड्ने सडक निर्माण गर्न, दरवाङ–कल्लेनी–खाम्ला–बगर हुदै धौलागिरि हिमालको आधार शिविर नजिकैको दोभानमा सडक पु¥याउन सिफारिस गरिएको छ ।

गुर्जाको धिरसो कुरुवाघाटमा ५०० मिटर, मराङको खोरिवाङ खौरीबोट जोड्ने, ताकमको महतला र खिवाङको बासँबोट जोड्ने, मुदीको लेकोत र खिवाङको कोतबाङ जोड्ने लामो दुरीको झोलुङ्गे पुल निर्माणको लागि संघीय सरकारलाई सिफारिस गरेको गाउँपालिकाले जनाएको छ ।लुलाङ, गुर्जा, मुदी, मराङ र मल्कवाङमा केन्द्रीय प्रशारण लाइनको विद्युत सुबिधा विस्तार गर्न माग गरिएको छ । यसैगरी मराङको जनविकास माविमा दुई तले १८ कोठे र लुलाङमा वडा कार्यालय भवन निर्माण गर्न सिफारीस गरिएको छ ।

चालू आर्थिक वर्षको दोस्रो चौमासिकमा अपुग सामाजिक सुरक्षा भत्तालाई चालु खर्चबाट निकासा गरेर वितरणलाई तिब्रता दिने निर्णय भएको छ । वडा न. १ गुर्जाको वडा पालिकाको निर्णय अनुसार व्यवसायिक भेडापालनको लागि बिनियोजन भएको बजेटबाट दुई हजार पाँच सय भेडा, एक सय भैसी र ६८ वटा घोडा खच्चडको पशु विमा गर्ने निर्णय पनि भएको छ ।

सन्तोष गौतम