म्याग्दीमा सबै परिक्षाकेन्द्रमा सेनेटरी प्याड र प्राथमिक उपचारको व्यवस्था

  • ८ चैत्र २०७५, शुक्रबार
  • 1941 पटक पढिएको

म्याग्दी, ८ चैत । चैत १० गते बाट शुरु हुन लागेको माध्यमिक शिक्षा परीक्षा (एसइइ) मा म्याग्दीका सबै परिक्षा केन्द्रमा सेनेटरी प्याडको व्यवस्था सहित प्राथमिक उपचारको प्रवन्ध मिलाईएको छ । गण्डकी प्रदेशको सामाजिक विकास मन्त्रालयको सहयोगमा जिल्लामा रहेका ९ वटै परिक्षा केन्द्रमा परिक्षाको समयमा महिनावारी हुने छात्राहरुको सहजताका लागि सेनेटरी प्याडको व्यवस्था मिलाइएको हो ।

परिक्षा केन्द्रमा सेनेटरी प्याडको प्रवन्ध सहित आकस्मिक उपचारको समेत प्रवन्ध मिलाईएको जिल्ला शिक्षा विकास तथा समन्वय इकाईका प्रमुख दलबहादुर थापाले जानकारी दिनुभयो । अत्याबश्यक औषधी उपलब्ध गराइएको र आकस्मिक उपचारको लागि फोकल पर्सन तोक्न केन्द्राध्यक्षलाई निर्देशन दिइएको उहाँले बताउनुभयो ।

परिक्षा सञ्चालनको सम्पूर्ण तयारी अन्तिम चरणमा पुगेको र सबै परिक्षा केन्द्रको लागि केन्द्राध्यक्ष नियुक्त गरि परिक्षालाई मर्यादित तवरले सम्पन्न गर्नको लागि १९ बुँदे लिखित निर्देशन समेत दिइएको छ । एसइइमा म्याग्दीबाट एक हजार १११ छात्रा र एक हजार १३१ छात्र गरि कुल दुई हजार २४२ जना परिक्षार्थी सहभागी हुदैछन् ।

परिक्षा सञ्चालनको लागि ९ जना केन्द्राध्यक्ष, १५ जना सहायक केन्द्राध्यक्ष, ११२ जना निरिक्षक, २१ जना परिक्षा सहयोगी र २३ जना सहयोगि परिचालन हुने कार्यालयले जनाएको छ । परिक्षामा सामेल हुने विद्यार्थी र परिचालन हुने शिक्षकहरुलाई पोशाख समेत अनिवार्य गरिएको छ ।

जिल्लामा विद्यालय छाडेका र नियमित हाजिरी नभएका कारण परिक्षाका लागि आवेदन दिएका मध्य ३१ जना परिक्षामा सहभागि हुनबाट बञ्चित भएका छन् । रघुगंगा गाउँपालिका–३ मौवाफाँटमा रहेको ज्ञानोदय माविका सञ्चालित दृष्टिविहिन स्रोत कक्षाबाट २ जना दृष्टिविहिन विद्यार्थीहरुले परिक्षामा सहभागीता जनाउने भएका छन् ।