मालिकामा वडाका योजना धमाधम

  • ६ चैत्र २०७५, बुधबार
  • 1619 पटक पढिएको

बेनी ३० फागुन । मालिका गाउँपालिकाले ६ नम्बर वडा दरवाङमा चालू आर्थिक वर्षमा सञ्चालन गरेका योजना कार्यान्वयन धमाधम अघि बढेको छ । वडाको प्रस्तावमा गाउँपालिकाले बजेट बिनियोजन गरेका सडक, नदी नियन्त्रण, नाली, भवन लगायतका योजनाहरु कार्यान्वयनमा उपभोक्ताहरु जुटेका हुन् । यस वर्ष ६ नम्बर वडामा मालिका गाउँपालिकाले एक करोड ७० लाख रुपैयाँ बिनियोजन गरेर ३९ वटा पूर्वाधार योजना सञ्चालन गरेको छ । म्याग्दी नदी किनारमा कटान रोकथामका लागि सञ्चालन गरिएको तटबन्ध योजना वडाको ठूलो योजना हो ।

 


गाउँपालिकाले ८ लाख र प्रतिनिधिसभा सदस्य भुपेन्द्रबहादुर थापाले निर्वाचन क्षेत्र पूर्वाधार विकास कार्यक्रम मार्फत सिफारिस गरेको २५ लाख रुपैयाँ बिनियोजन भएको छ । नदी नियन्त्रणका लागि किनारमा ५ मिटर अग्लो र ३० मिटर लम्बाइएको मेसिनरी पर्खाल निर्माण भैरहेको छ । २२ लाख रुपैयाँ बिनियोजन भएको गाउँपालिकाले गौरवको योजना मानेको दिच्याम–दुखु सडक आयोजना कार्यान्वयनका लागि उपभोक्ता समिति गठनको तयारी भएको छ । दरवाङ को नयाँ बजारमा १३० मिटर पक्की नाली निर्माण भैरहेको छ ।

यसैगरी दरवाङमा योग भवन निर्माण भएको छ । गाउँपालिकाको सात लाख रुपैयाँ सहयोगमा ३० जना क्षमताको योग भवन निर्माण सकिएको वडा अध्यक्ष सन्तनाथ सुवेदीले जानकारी दिनुभयो । गत वर्ष र यो वर्ष तीन लाख पचास हजार रुपैयाँका दरले यो भवनका लागि बजेट बिनियोजन भएको थियो । योग भवन बनाउन सुरेन्द्रराज शर्माले ३५ हाल लम्बाई र २० हात चौडाइ भएको जग्गा निशूल्क उपलब्ध गराउनुभएको थियो । यसैगरी जनप्रिय माविको खेलमैदान देखि धौलागिरी चोक जोड्ने ५० मिटर पक्कि पदमार्ग निर्माण भएको छ । पदमार्ग निर्माणका लागि २ लाख रुपैयाँ बिनियोजन गरिएको वडा अध्यक्ष सुवेदीले बताउनुभयो ।

मालिका गाउँपालिकाको ६ नम्बर वडामा पर्ने दिच्यामलाई किवी, ढाडखर्कलाई गोलभेडा र कागती, लाम्मेलालाई तरुल र केरा, तोलावाङ र दरवाङलाई आलु खेतीको पकेट क्षेत्र बनाउने तयारी गरिएको वडा कार्यालयले जनाएको छ । खेती विस्तारका लागि कृषकहरुलाई समूहमा आवद्ध गराएर तालिम र अनुदानमा विउ विजन उपलब्ध गराइने भएको छ ।