मौवाफाँटमा सुन्तला खेती हराउन थाल्यो, समस्या र सम्भावनाको अध्ययन सुरु (फोटो फिचर)

  • ६ चैत्र २०७५, बुधबार
  • कमल खत्री
  • 2110 पटक पढिएको

बेनी, ५ चैत । १५ बर्ष अगाडी सम्म म्याग्दी सदरमुकाम बेनी र गलेश्वर लगायतका क्षेत्रमा रघुगंगा गाउँपालिका–३ राखु मौवाफाँटको सुन्तलाको माग अत्यधिक हुने गथ्र्यो । यस क्षेत्रका व्यवसायिहरु बगैँचामै पुगेर सुन्तला खरिद गरि विक्रि गर्थे भने स्थानीयले समेत तत्कालिन समयमा डोकोमा सुन्तला बोकेर बजारमा ल्याएर विक्रि गरि आम्दानी गर्थे ।

दाना ठुला , रसिलो र गुलियो स्वादको कारण मौवाफाँटको सुन्तलाको माग बढ्दो थियो भने कृषकहरुपनि उत्साहित बनेर सुन्तला खेतीमा लागेका थिए । तर अहिले यहाँको अबस्था फेरिएको छ । हिजो सुन्तलाको राजधानीकै रुपमा विकास हुन थालेको मौवाफाँटमा अहिले सुन्तलाको बोट देख्न समेत कठिन छ ।

विरुवा हुर्कदै गएर दाना लाग्ने बेलामा बोट सुक्ने समस्या बढेपछि सुन्तलाको फुलवारी नै रित्तिन थालेको स्थानीय हरि सुवेदीले बताउनुभयो । ‘‘ गाउँका सबै सुन्तलाका बगैचा रित्तिएका छन्, भएका बोटहरु पनि सुकेका छन्, सुन्तला खेती नै नहुने समस्या बढ्यो’’–अर्का कृषक मुकुन्द शर्माले भन्नुभयो ।

सुन्तलाको राजधानी बन्नुपर्ने ठाउँमा अहिले बगैचा नै रित्तिएपछि मंगलार स्थानीय अगुवा तथा नेकपाका नेता बालकृष्ण सुवेदीको पहलमा सुन्तला जोन कार्यालयका प्रमुख बम बहादुर थापा, कृषि ज्ञान केन्द्रका प्रमुख नरेश घिमिरे लगायतको टोलिले मौवाफाँटमा पुगेर स्थानीय कृषकहरुसंग छलफल र बगैचाहरुको स्थलगत निरिक्षण गर्नुभएको छ ।

सुन्तला खेतिमा आएको समस्याको पहिचान गरि कुन प्रजातिको सुन्तला हुने हो त्यसको सम्भाव्यता अध्ययनको लागि पहल गरिएको पहलकर्ता सुवेदीले बताउनुभयो । सो क्रममा स्थानीय मुकुन्द शर्मा, सुर्यदत्त शर्मा, झलकदक्त सुवेदी, दण्डपाणी सुवेदी, अर्जुन सुवेदी , गोविन्द रिजाल लगायतले सुन्तला खेतीमा आएको समस्याबारे टोलिको ध्यानकर्षण गराउनुभएको थियो ।

कृषकहरुबाट सुन्तला खेतीमा आएको समस्यालाई स्थलगत रुपमा संकलन गरिएको र केही दिनभित्रै बगैचाको नमुना संकलन गरि प्रयोगशालामा परिक्षण गरिने सुन्तला जोन कार्यालयका प्रमुख थापाले बताउनुभयो । उहाँले नमुना संकलनको रिपोर्ट आएपछि मात्रै समस्याको पहिचान हुने बताउनुभयो ।

कमल खत्री

म्याग्दी अनलाईन डट् कमका सम्पादक हुन् l