घारमा हेलीप्याड निर्माण

  • ४ चैत्र २०७५, सोमबार
  • 2405 पटक पढिएको

सन्तोष गौतम
बेनी ४ चैत । विश्व प्रसिद्ध अन्नपूर्ण चक्रिय पदमार्गमा पर्ने म्याग्दीको अन्नपूर्ण गाउँपालिका ६ घारमा हेलिप्याड निर्माण भएको छ । अत्यावश्यक समयमा उद्धार र विपद् व्यवस्थापनका लागि हेलीकप्टर अवतरणको लागि नेपाली सेनाको श्रीबक्स गुल्मको प्राबिधिक सहयोगमा गाउँपालिकाले हेलिप्याड बनाएको हो ।

वडा कार्यालय परिसरमा स्थानीय दिपक बरुवालले उपलब्ध गराउनुभएको जग्गामा हेलिप्याड बनाइएको वडा अध्यक्ष कृष्णप्रसाद बरुवालले जानकारी दिनुभयो । अन्नपूर्ण गाउँपालिकामै पहिलो पटक घारमा हेलिप्याड बनाइएको हो । सिमेन्ट र बालुवाले पिसिसी गरेर एच आकारको चिन्ह बनाइएको छ । यो हेलिप्याडबाट स्थानीयबासीका साथै अन्नपूर्ण चक्रिय पदमार्गको भुरुङ्ग–तातोपानी–घोडेपानी रुटको भ्रमणमा आउने पर्यटकहरुलाई समेत सुबिधा पुग्ने जनाइएको छ । अन्नपूर्ण गाउँपालिकाले अन्य वडाहरुमा पनि हेलिप्याड बनाउने तयारी गरेको छ ।

जिल्ला सुरक्षा समितिको ‘एक वडा एक हेलिप्याड’ निर्माण गर्ने अभियान अन्र्तगत घार सहित हालसम्म १५ स्थानमा हेलिप्याड निर्माण भएको छ । म्याग्दीको मालिका गाउँपालिकाको ७ वटै वडामा हेलिप्याड निर्माण भैसकेको छ । त्यसैगरि ‘एक वडा एक हेलीप्याड’ अभियान अन्र्तगत अहिलेस्म्म मंगला र रघुगंगा गाउँपालिका तथा बेनी नगरपालिकामा २/२ स्थानमा हेलिप्याड निर्माण भएको छ ।

अर्थुङ्गे स्थित नेपाली सेनाको श्रीबक्स गुल्म परिसरमा रहेको हेलीप्याडलाई स्तरोन्नती गरि जिल्लामै पहिलो रात्रीकालिन अवतरणयुक्त ‘नाईट ल्याण्डीङ्ग’ हेलीप्याड बनाईएको छ । शसस्त्र प्रहरी, नेपाल प्रहरी र नेपाली सेनाले हेलिप्याड निर्माणमा श्रमदान गरेका छन् । भौगोलिक रुपमा विकटता रहेकाले आकस्मिक बिरामी, दुर्घटनाका घाइते, प्राकृतिक प्रकोप र विपदको समयमा उद्धार तथा राहतको कामलाई सहज बनाउन हेलिप्याड बनाउने निर्णय गरिएको प्रजिअ लीलाधर अधिकारीले बताउनुभयो ।