म्याग्दीका ३१ विद्यार्थी एसइईबाट बञ्चित

  • ४ चैत्र २०७५, सोमबार
  • 2029 पटक पढिएको

 

म्याग्दी ४ चैत । म्याग्दीका ३१ जना विद्यार्थीहरु आगामी हप्तादेखि सुरु हुन लागेको माध्यमिक शिक्षा परिक्षा (एसइई)मा सहभागि हुनबाट बञ्चित भएका छन् । ७५ प्रतिशत हाँजिरी नपुगेका कारण परिक्षाका लागि आवेदन फारम भरेका मध्य ३१ जना सहभागि हुनका लागि अयोग्य भएका जिल्ला शिक्षा विकास तथा समन्वय इकाईले जनाएको छ ।

इकाईका प्रमुख केशवप्रसाद बुढाथोकीका अनुसार विद्यालय छाडेका र नियमित हाजिरी नभएका कारण उनिहरुले परिक्षा दिनबाट बञ्चित भएका हुन् । परिक्षा दिनबाट बञ्चित हुनेमा सबैभन्दा बढी ५ जना धवलागिरी गाउँपालिका २ को लमसुङ माविका छन् । प्रकाश माविमा सञ्चालित खुल्ला विद्यालयबाट एसइइमा सहभागिताका लागि आवेदन फारम भरेका ३० जना मध्य ५ जना पनि हाँजिरि नपुगेकाले अयोग्य भएका छन् ।

माध्यमिक परिक्षा (एसइइमा) म्याग्दीबाट एक हजार १११ छात्रा र एक हजार १३१ छात्र गरि कुल दुई हजार २४२ जना परिक्षार्थी सहभागी हुने इकाईका प्रमुख बुढाथोकीले बताउनुभयो । २ जना दृष्टिविहीन विद्यार्थी पनि एसइइमा सहभागी हुदैछन् ।

यसैगरी गण्डकी प्रदेशका सामाजिक विकास मन्त्रालयले परिक्षाको समयमा महिनावारी हुने छात्राहरुको सहजताका लागि म्याग्दी सहित प्रदेशका २१७ वटा परिक्षा केन्द्रमा सेनेटरी प्याडको व्यवस्था मिलाएको छ । कुल छात्रा संख्याको १५ प्रतिशतको लागि आवश्यक सेनेटरी प्याड खरिद गर्न रकम उपलब्ध गराइएको मन्त्रालयकी महिला विकास अधिकृत बिष्णुमाया पौडेलले बताउनुभयो ।