बनौलाई आलुको मुख्य क्षेत्र घोषणा

  • ४ चैत्र २०७५, सोमबार
  • 1914 पटक पढिएको

लक्ष्मीप्रसाद सापकोटा

पर्वत, ४ चैत । पर्वत जिल्लामै अत्यधिक आलु उत्पादन हुने क्षेत्रका रूपमा परिचित जलजला गाउँपालिका–९ बनौंलाई आलुको ब्लक क्षेत्र घोषणा गरिएको छ । आलुको उत्पादन र क्षेत्र विस्तार गर्दै किसानको आयआर्जन बढाउने उद्देश्यले गाउँपालिकाको सिफारिसमा कृषि ज्ञानकेन्द्र पर्वतले प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनासँगको सहकार्यमा ब्लक घोषणा गरेको हो ।

प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाका अनुसार ब्लक घोषणा हुन कम्तीमा सय हेक्टर क्षेत्रफलमा खेती गरिएको हुनुपर्छ । बनौंका वडाध्यक्ष गौबबहादुर पुर्जाका अनुसार यहाँ करीब पाँच सय रोपनी क्षेत्रफलमा आलुको व्यावसायिक खेती हुँदै आएको छ ।

समुद्र सतहबाट एक हजार २०० देखि तीन हजार २०० मिटरको उचाइसम्म फैलिएको भू–भाग रहेको बनौंमा एक हजार ५०० देखि दुई हजार ५०० मिटरको उचाइमा आलुखेती हुन्छ ।

ब्लक घोषणा भएसँगै बनौको आलु उत्पादन बढाउनका लागि चालु वर्ष रु २५ लाख बजेट विनियोजन भएको छ । विनियोजित बजेटबाट किसानलाई खनजोतका लागि मिनी ट्रेलर, सिँचाइको व्यवस्था, उन्नत जातका आलुको बीउ, रोगकीरा नियन्त्रण र मलखादको व्यवस्थापनलगायतमा लगानी गरिने कृषि ज्ञानकेन्द्रका प्रमुख वासुदेव रेग्मीले बताउनुभयो ।

‘ब्लक भनेको विशेषगरी उत्पादन बढाउने वैज्ञानिक व्यवस्था हो,’ रेग्मीले भन्नुभयो, “त्यसका लागि घोषणा गरिएको बालीमा फोकस गरेर लगानी गर्नुपर्छ ।” उत्पादन बढेर बिक्रीको समस्या भए भण्डारणगृहको समेत निर्माण गर्नुपर्ने रेग्मीले बताउनुभयो ।

यहाँका किसानको पुख्र्यौलीदेखिकै मुख्य बाली आलु नै हो । खाद्यान्नमा सबैभन्दा धेरै उत्पादन दिने आलुको उत्पादकत्व पनि अन्यत्रको भन्दा यहाँ अधिक छ । स्थानीय किसानका अनुसार प्रतिरोपनी एक हजार २०० देखि एक हजार ५०० मुरीसम्म आलु उत्पादन हुन्छ । ‘एक रोपनीमा एक मुरीसम्म लगाउन मिल्छ,’ किसान डिलकुमारी पुनले भन्नुभयो, “राम्रो हुँदा एक हजार ५०० मुरीसम्म फल्छ ।”