म्याग्दी नदीमा दुइ वटा मोटर चल्ने पुल निर्माण सुरु (फाेटाे फिचर)

  • ३ चैत्र २०७५, आईतवार
  • 3573 पटक पढिएको

म्याग्दी ३ चैत । म्याग्दीको मंगला गाउँपालिकाको बाबियाचौर र अर्मन जोड्ने मोटरेबल (गाडी गुड्ने) पुल निर्माण सुरु भएको छ । सडक डिभिजन कार्यालय बागलुङले मंगला गाउँपालिका २ बाबियाचौरको माटेबगर र वडा न. ५ अर्मनको मसानघाट जोड्ने पक्कि मोटरेबल पुल बनाउन लागेको हो । त्यसैगरि सडक डिभिजनले बेनी नगरपालिका ४ फापरखेत देखि मंगला गाउँपालिका ३ बरंजा जोड्ने ११७ मिटर लामो अर्को मोटरेबल पुलको पनि निर्माण सुरु गरेको छ ।

बाबियाचौर र अर्मन जोड्ने जाेड्ने गरि ४०/४० मिटरको डबल स्पाम भएको ८० मिटर लम्बाई र ११ मिटर चौडाइको पुल निर्माण गर्न लागिएको डिभिजनका सूचना अधिकारी इञ्जिनियर मकुन्दप्रसाद लामीछानेले जानकारी दिनुभयो । याे पुल निर्माणका लागि लम्बिनी प्राकृतिक जेभीले ११ करोड २४ लाख २५ हजार रुपैयाँमा ठेक्का सम्झौता गरेको छ ।

२०७५ पुष २५ गते सम्झौता भएको पुल २०७७ पुष २५ मा सम्पन्न गर्ने लक्ष्य छ । निर्माण कम्पनीले पुल निर्माणका लागि जग खन्ने काम सुरु गरेको जनाएको छ । यो पुल निर्माण भएपछि मंगला गाउँपालिकाको अर्मन, बरंजाको साथै बागलुङको ताराखोला गाउँपालिकाका बासिन्दालाई सुबिधा पुग्ने जनाइएको छ ।

अर्मन र बरंजामा सडक निर्माण भएपनि मोटरेबल पुल नहुँदा स्थानीयबासी यातायात सुबिधाबाट बञ्चित थिए । एक दशकअघिनै स्थानीयबासी, जिविस, गाविसको पहलमा निर्माण भएको सडकबाट पुल निर्माण भएपछि स्थानीयबासीले सुबिधा पाउने मंगला गाउँपालिकाका अध्यक्ष सतप्रसाद रोकाले बताउनुभयो ।

मोटरेबल पुल नहुँदा हिउँदमा म्याग्दी नदीबाट सवारी साधन वारपार गर्दै आएका छन् । बर्खामा भने आवत जावत बन्द हुने गरेको छ । सडक डिभिजनले बेनी नगरपालिका ४ फापरखेत देखि मंगला गाउँपालिका ३ बरंजा जोड्ने ११७ मिटर लामो अर्को मोटरेबल पुलको पनि निर्माण सुरु गरेको छ ।