झाँक्रेपानीमा पर्यटन प्रर्वद्धन कार्यक्रम

  • ३ चैत्र २०७५, आईतवार
  • 1788 पटक पढिएको

बरंजा २ चैत । लायन्स क्लव अफ बेनी पिस सिटीले शनिबार मंगला गाउँपालिकाको पर्यटकीय स्थल झाँक्रेपानीमा पर्यटन प्रर्वद्धन कार्यक्रम गरेको छ । म्याग्दी उद्योग वाणिज्य संघको अगुवाइमा सञ्चालित भ्रमण वर्ष २०७५ अन्तरगत ओझेलमा परेको झाँक्रेपानीको प्रचारप्रसारका लागि क्लवले सरोकारवालाहरुलाई भ्रमण र अन्तरक्रिया गरेको हो । म्याग्दी उद्योग वाणिज्य संघका पदाधीकारी, क्लवका पदाधिकारी, जिल्लामा क्रियाशिल पत्रकारहरुलाई झाँक्रेपानी भ्रमण गराउनुका साथै झाँक्रेपानीका जनप्रतिनिधि, आमा समूह र अगुवाहरुसँग अन्तरक्रिया गरिएको हो ।


दृष्य अवलोकन र प्राकृतिक सौन्दर्ययुक्त झाँक्रेपानीको पर्यटन विकासका लागि पूर्वाधार निर्माण र प्रचारप्रसारमा सघाउन स्थानीयबासीहरुले आग्रह गरेका कार्यक्रम संयोजक दुर्गा बुढाले बताउनुभयो । सोही अवसरमा स्थानीयबासीहरुले म्याग्दी उद्योग वाणिज्य संघले तयार पारेको म्याग्दी भ्रमण वर्षको लोगो अंकित टिसर्ट र टोपी वितरण गरिएको थियो ।


स्थानीय शिक्षक केपी सापकोटाले सञ्चालन गर्नुभएको कार्यक्रममा झाँक्रेपानीका सोमबहादुर छन्त्यालले पर्यटकीय सम्भावना र पर्यटन विकासका लागि भएका प्रयासको बारेमा जानकारी गराउनुभएको थियो । सोही अवसरमा बरंजाका सबै बस्ति, कला, संस्कृति, ऐतिहाँसिक, सामाजिक, प्राकृतिक विषयबस्तुलाई समेटेर तयार पारिएको गितको बारेमा जानकारी गराइएको थियो ।


बरंजा सांस्कृतिक समूहका अध्यक्ष कलाधर कडेल र दपर्ण रोकाले रेकर्डको तयारीमा रहेको गितको करिब तीन महिनापछि भिडीयो सहित सार्वजनिक गरिने र त्यसका लागि आवश्यक छ लाख रुपैयाँ जुटाउन अभियान चलाइएको बताउनुभयो ।