अन्नपूर्ण गाउँपालिका प्रमुखमा एउटै वडाका पुनद्धय मैदानमा, माओवादी रणनिती बनाउँदै

  • ८ बैशाख २०७४, शुक्रबार
  • 6469 पटक पढिएको

म्याग्दी, ८ वैशाख । अन्नपूर्ण गाउँपालिकाको प्रमुखमा नेपाली काँग्रेस र नेकपा एमालेको तर्फबाट एउटै वडाका पुनद्धयले प्रतिस्पर्धा गर्ने भएका छन् । गाउँप्रमुखमा नेपाली काँग्रेसको तर्फबाट अन्नपूर्ण –६ घोरेपानीका क्याप्टेन डमबहादुर पुन र नेकपा एमालेको तर्फबाट अन्नपूर्ण–६ चित्रेका नारायण पुन उम्मेदवार बन्ने पक्का भएको हो ।

घोरेपानीका होटल व्यवसायी समेत रहेका डमबहादुर पुनलाई काँग्रेसले झण्डै एक महिना अगाडी नै गाउँप्रमुखको उम्मेदवारको रुपमा छनौट गरिसकेको थियो । एमालेले भने विहिवार मात्रै पुनको उम्मेदवारीको टुंगो लगाएको हो । एमालेको गाउँ संगठन कमिटीले प्रमुख पदको उम्मेदवारमा सिफारिस गरेका नारायण पुन र भरत पुनमध्ये भरत पुनले सहमतीका लागि नारायण पुनलाई नै उम्मेदवार बनाउने घोषणा गर्नुभएको हो ।

एमाले जिल्ला कमिटी सदस्य समेत रहेका गाउँ प्रमुखको उम्मेदवार बनेका पुन एमाले निकट खेलकुद महासंघको केन्द्रिय सदस्य समेत हुन भने साँसद नरदेवी पुन पशुपंक्षी विकास राज्यमन्त्री भएको समयमा उहाँका निजी सचिबालयमा रहेर समेत काम गर्नुभएको थियो ।
अन्नपूर्ण गाउँपालिकाको प्रमुखमा दुई पार्टीले एउटै वडाबाट र एउटै समुदायबाट उम्मेदवार छनौट गरेपछि निर्वाचनमा निकै प्रतिस्पर्धा हुने आँकलन गरिएको छ । यता माओवादी केन्द्रले समेत जनजाती समुदायबाटै प्रमुख पदको उम्मेदवार छान्ने देखिएको छ ।

आन्तरिक रणनिती बनाउँदै गरेको माओवादी केन्द्रले भने गाउँपालिका प्रमुखको उम्मेदवारी घोषणा गरिसकेको छैन् । माओवादी केन्द्रबाट गाउँपालिका प्रमुखमा भुरुङतातोपानीका कुलबिर राम्जाली , बुद्धि पुन लगायतका नेताहरु उम्मेदवार बन्न सक्ने चर्चा चलेको छ ।
घोरेपानीका चर्चित होटल व्यवसायी रहेका काँग्रेसको तर्फबाट उम्मेदवार बनेका क्याप्टेन डम्बहादुर पुन सामाजिक क्षेत्रमा समेत सक्रिय हुनुहुन्छ भने एमालेको तर्फबाट उम्मेदवार बनेका नारायण पुन युवापंतिमा लोकप्रिय छन् । ८ वटा वडा रहेको अन्नपूर्ण गाउँपालिकामा कुल १० हजार ५१९ मतदाता रहेका छन् । यस गाउँपालिकामा झण्डै ८० प्रतिशत मतदाता जनजाती समुदायकै रहेका छन् ।