म्याग्दीका एसइइ परिक्षा केन्द्रमा सेनेटरी प्याडको व्यवस्था

  • १ चैत्र २०७५, शुक्रबार
  • 1913 पटक पढिएको

सन्तोष गौतम
बेनी १ चैत । चैत १० गतेदेखि सुरु हुन लागेको एसइइ परिक्षाको म्याग्दी स्थित परिक्षा केन्द्रमा सेनेटरी प्याडको व्यवस्था मिलाइएको छ । गण्डकी प्रदेशका सामाजिक विकास मन्त्रालयले परिक्षाको समयमा महिनावारी हुने छात्राहरुको सहजताका लागि प्रदेशका २१७ वटा परिक्षा केन्द्रमा सेनेटरी प्याडको व्यवस्था मिलाएको छ ।

मन्त्रालयकी निर्देशक तुलसा अर्याल र महिला विकास अधिकृत बिष्णुमाया पौडेलले म्याग्दीका ९ वटा परिक्षा केन्द्रमा सेनेटरी प्याड खरिदका लागि शुक्रबार जिल्ला शिक्षा विकास तथा समन्वय इकाईका प्रमुख केशव बुढाथोकीलाई पन्ध्र हजार रुपैयाँ उपलब्ध गराउनुभयो ।

माध्यमिक परिक्षा (एसइइमा) म्याग्दीबाट एक हजार १११ छात्रा र एक हजार १३१ छात्र गरि कुल दुई हजार २४२ जना परिक्षार्थी सहभागी हुने इकाईका प्रमुख बुढाथोकीले बताउनुभयो । ३ जना दृष्टिविहीन विद्यार्थी पनि एसइइमा सहभागी हुदैछन् ।

कुल छात्रा संख्याको १५ प्रतिशतका लागि आवश्यक सेनेटरी प्याड खरिद गर्न रकम उपलब्ध गराइएको महिला विकास अधिकृत पौडेलले बताउनुभयो ।

७५ प्रतिशत हाँजिरी नपुगेका कारण परिक्षाका लागि आवेदन दिएका मध्य ३१ जना परिक्षामा सहभागि हुनबाट बञ्चित भएका छन् । विद्यालय छाडेका र नियमित हाजिरी नभएका कारण उनिहरुले परिक्षा दिनबाट बञ्चित भएका हुन् ।

परिक्षा दिनबाट बञ्चित हुनेमा सबैभन्दा बढी ५ जना धवलागिरी गाउँपालिका २ को लमसुङ माविका छन् । प्रकाश माविमा सञ्चालित खुल्ला विद्यालयबाट एसइइमा सहभागिताका लागि आवेदन फारम भरेका ३० जना मध्य ५ जना पनि हाँजिरि नपुगेकाले अयोग्य भएका छन् ।