रघुगंगामा ‘गाउँपालिका अध्यक्ष सुकुम्बासी व्यवस्थापन तथा आवास सुधार’ कार्यक्रम सुरु

  • १ चैत्र २०७५, शुक्रबार
  • कमल खत्री
  • 1804 पटक पढिएको

कमल खत्री

बेनी, १ चैत । म्याग्दीको रघुगंगा गाउँपालिकाले सुकुम्बासीहरुको व्यवस्थापन र घरबार विहिनहरुको लागि ‘गाउँपालिका अध्यक्ष सुकुम्बासी व्यवस्थापन तथा आवास सुधार’ कार्यक्रम सुरु गरेको छ । संविधानमा मौलिक हकको रुपमा रहेको आवासको अधिकारलाई पूर्ण रुपमा प्रत्याभुति दिलाउनको लागि सो कार्यक्रम सञ्चालन भएको गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत रमेश थापाले जानकारी दिनुभयो ।
गाउँपालिकाभित्रका हरेक नागरिकलाई आवासको पत्याभुति दिलाउनको लागि सुरु गरिएको कार्यक्रम अन्र्तगत पहिलो चरणमा ८ वटै वडामा लगत संकलन सुरु भएको छ ।

कार्यपालिका सदस्य तोरण दर्जी संयोजक र सामाजिक विकास अधिकृत पदम भण्डारी सदस्य सचिब रहेको कार्यदल मार्फत वडा नम्बर २ भगवतीबाट लगत संकलन सुरु भएको प्रमुख प्रशासकिय अधिकृत थापाले बताउनुभयो । कार्यदलले सबै वडामा खरले छाएको घर, कच्चि टिनले छाएको घर, सौचालय विहिन घर, घरबार विहिन र सुकुम्बासीहरुको घरधुरी संख्याको लगत संकलन गर्नेछ । कार्यदल मार्फत एक महिनाभित्रमा लगत संकलन गरि कार्यपालिका बैठकमा प्रतिवेदन पेश हुनेछ । सुकुम्बासी र घरबार विहिनहरुलाई आधारभुत आवासको बन्दोबस्त गर्दै आवासको दयनिय अबस्थालाई अन्त्य गर्न कार्यक्रम अघि बढाईएको गाउँपालिकाका अध्यक्ष भव बहादुर भण्डारीले बताउनुभयो ।

गाउँपालिकाले यस बर्षको लागि रु १० लाख बजेट गाउँपालिका अध्यक्ष सुकुम्बासी व्यवस्थापन तथा आवास सुधार कार्यक्रमको लागि विनियोजन गरेको छ । ‘‘ हरेक वडामा वडा अध्यक्ष र टोल सुधार समितिको रोहोवरमा लगत संकलन हुन्छ, गाउँपालिकाबाट विनियोजन भएको बजेटलाई प्राथमिकताको आधारमा परिचालन गछौ’’– गाउँपालिका अध्यक्ष भण्डारीले भन्नुभयो ।

यो लगत संकलनले गाउँपालिकाको मानव बसोबासको अबस्थाको बास्तविक चित्रण आउने र आगामी बर्षका योजना तर्जुमा गर्दा समेत मार्गदर्शन बन्ने गाउँपालिकाले जनाएको छ । सुकुम्बासी व्यवस्थापन तथा आवास सुधार सम्बन्धि कार्यविधि तयार गरि कार्यपालिका बैठक मार्फत स्विकृत गरि औपचारिक रुपमा काम सुरु भएको प्रमुख प्रशासकिय अधिकृत थापाले बताउनुभयो । गाउँपालिका अध्यक्ष संग आवासलाई जोडेर ल्याईएको यस कार्यक्रमलाई मुलुकमै पहिलो मानिएको छ ।

कमल खत्री

म्याग्दी अनलाईन डट् कमका सम्पादक हुन् l