व्यवसायीको अटेरी

  • १ चैत्र २०७५, शुक्रबार
  • 2029 पटक पढिएको

बेनी १ चैत । जिल्ला प्रशासन कार्यालय म्याग्दीको नेतृत्वमा शुक्रबार सदरमुकाम बेनीमा बजार अनुगमन गरिएको छ । प्रजिअ लीलाधर अधिकारीको नेतृत्वमा विश्व उपभोक्ता अधिकार दिवसको अवसरमा बेनीका डेरी र खाद्यान्न पसलहरुको अनुगमन गरिएको थियो । दुई वटा समूह बनाएर २८ वटा पसलको अनुगमन गरिएको प्रशासनले जनाएको छ ।


उपभोग्य म्याद नाघेका पाउरोटी, बिस्कुट र पेय पदार्थहरु जफत गरिएको छ । व्यवसायीहरुले मूल्यसूचि नराखेको, राखेकाले नियमित अद्यावधिक नगरेको, सरसफाईमा ध्यान नदिएको जस्ता कमजोरी फेला परेका छन् ।यसैगरी तरकारी, मदिरा र फलफुल एकै ठाउँमा राखेको पनि भेटिएको छ । व्यवसायीहरुलाई सचेत बनाइएको प्रजिअ अधिकारीले बताए ।

अनुगमनका क्रममा कमजोरी गर्ने व्यवसायीहरुलाई सचेत बनाएर सुधारको निर्देशन गरिएपनि उनिहरुले सुझाव कार्यान्वयनमा अटेरी गर्दै आएका छन् । अनुगमनमा प्रहरी नायव उपरिक्षक महेन्द्रप्रसाद मरासिनी, बेनी नगरपालिकाका ७ का वडा अध्यक्ष राजेन्द्र श्रेष्ठ, ८ का अध्यक्ष रामकृष्ण बराइली, उद्योग वाणिज्य संघका बरिष्ठ उपाध्यक्ष बेलबहादुर कटुवाल लगायतको सहभागिता रहेको थियो ।एउटा टोलीको नेतृत्व प्रजिअ अधिकारीले गर्नुभएको थियो भने अर्को टोलीको नेतृत्व सहायक प्रजिअ राजेन्द्र शर्माले गरेका थिए ।