विदेशको आकर्षक जागिर त्यागेर मल्कबाङका देवान छन्त्याल भेडापालनमा (फोटो कथा)

  • २९ फाल्गुन २०७५, बुधबार
  • कमल खत्री
  • 3890 पटक पढिएको

कमल खत्री
बेनी, २९ फागुन । हातमा शिप कम्प्युटर डिजाईनको छ । विदेशमा आकर्षक कमाई हुने जागिर । प्रवासबाटै लामो समय सञ्चारकर्ममा समेत आफुलाई समाहित गर्दै आउनुभएका एक युवाले व्यवसायिक भेडापालन सुरु गर्नुभएको छ । म्याग्दीको धवलागिरी गाउँपालिका–५ मल्कबाङ्ग घर भएका  (हिम बहादुर)   देवान छन्त्यालले दुई दशक लामो बैदेशिक रोजगारिबाट आर्जन गरेको स्रोतलाई जन्मथलोमै उपयोग गर्ने उदेश्यले व्यवसायिक भेडापालन सुरु गर्नुभएको हो ।

३९ बर्षका छन्त्यालले रु ४० लाख लगानीमा दुई वटा भेडीगोठ खरिद गर्नुभएको छ । ‘‘ गाउँकै स्रोत र साधनलाई उपयोग गरि आयआर्जन गर्ने मेरो लक्ष्य हो, दुई वटा भेडिगोठबाट ४५० वटा भेडाबाख्रा गरिद गरेको छु, भेडाबाख्रा पालनलाई व्यवसायिक र व्यवस्थित बनाउने मेरो थप योजना छ’’–उहाँले भन्नुभयो ।

लेकालि क्षेत्रमा भेडिगोठ रहने भएकाले आफ्नो भेडिगोठमा रेदखेखको लागि अहिले ४ जनालाई पत्येक्ष रोजगारिको अवसर सिर्जना गरेको छन्त्यालले बताउनुभयो । गाउँदेखि टाढा वन जंगल र हिमाली भेगमा भेडिगोठ राख्ने गरिन्छ । मलेसियामा आकर्षक तलबको जागिर छाडेर आउनुभएका छन्त्यालले पछिल्लो समय वैदेशिक रोजगारिबाट भित्रिएको पुँजी उत्पादनमुलक क्षेत्रमा लगानी नभईकन घरजग्गा र अनुत्पादक क्षेत्रमा मात्रै लगानी भैरहेको सन्दर्भमा अरुलाई समेत सकरात्मक सन्देश प्रवाह होस भनेर भेडिगोठलाई अंगाल्ने निधो गरेको बताउनुभयो ।

‘‘कमाई त विदेशमा पनि राम्रो थियो, तर जिवन नै उतै विताउन मन मानेन, स्वदेश फर्किपछि पनि शहर बजारमा कमाई गर्ने शिप थियो, तर जन्मथलोको सम्भावनालाई नै मैले उजागर गर्नुपर्छ भन्ने अठोट गरेँ, मलाई थाहा छ, गोठमा बस्नु र गोठालो बनेर जिवन बिताउनु गाह्रो छ तर, आफु जन्मेको ठाउँमा जस्तोसुकै संघर्ष र परिश्रम गर्न किन नपरोस म खुसी छु ’’– उहाँले भन्नुभयो । यसै साता मात्रै खरिबोट खर्कमा भेडाबाख्रा खदिर गरि नयाँ व्यवस्थापनको साथ भेडाबाख्रापालन सुरु गर्नुभएको छन्त्यालले सामाजिक सञ्जाल र इन्टरनेटको उपयोग गरि बजारीकरण गर्ने योजना बनााएको बताउनुभयो ।

विदेशबाट गाउँ फर्कदा युवाविहिन गाउँ देखेपछि छन्त्यालले गाउँमै उत्पादनमुलक क्षेत्रमा लगानी गर्ने योजना बनाउनुभएको थियो ।
छन्त्यालले मलेसियामै कम्प्युटर डिजाइन सम्बन्धि काम गर्दै आउनुभएको थियो भने आफ्नो जन्मथलोलाई चिनाउन एक दशक अघिदेखि नै मल्कबाङ मिडिया डटकम सञ्चालन गरि मिडियामा समेत सक्रिय हुनुहुन्छ । छन्त्यालकै नेतृत्वमा ८ बर्षदेखि बेनीबाट म्याग्दी अनलाइन डटकम समेत निरन्तर रुपमा सञ्चालनमा छ । कम्प्युटर सम्बन्धि शिप र मिडियाकर्मीको रुपमा समेत आफुलाई स्थापित गर्न सफल छन्त्यालले जंगल पसेर भेडापालन सुरु गरेपछि गाउँका स्थानीय र उहाँका आफन्तहरु समेत अचम्बित बनेका छन् ।

छन्त्यालले भेडापालन संगै आफुले अहिले गर्दै आएका पेशालाई निरन्तरा दिने र गाउँमा उत्पादन हुने कृषि उपजको बजारीकरणको लागि समेत पोखरामा छिट्टै नयाँ व्यवसाय विस्तार गर्ने योजना बनाएको बताउनुभयो । छन्त्याल यस अघि प्रवासमा रहँदा समेत जन्मथलो मल्कबाङ्गको विकास निर्माण र सामाजिक सेवाका कार्यहरुमा निरन्तर रुपमा सक्रिय भएर सहयोग गर्दै आउनुभएको थियो । भेटेरीनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र म्याग्दीका प्रमुख जिवन आचार्यले बैदेशिक रोजगारिबाट आर्जन गरेको पुँजीलाई स्वदेशमा पशुपालनमा लगाउनु उदाहरणीय कार्य भएको बताउनुभयो ।

कमल खत्री

म्याग्दी अनलाईन डट् कमका सम्पादक हुन् l