म्याग्दीमा प्रवासीको लगानी भित्र्याउने तयारी

  • २८ फाल्गुन २०७५, मंगलवार
  • 2672 पटक पढिएको

सन्तोष गौतम
बेनी २८ फागुन । रोजगारी, पेशा, व्यवसाय र अध्ययनका लागि विश्वका विभिन्न देशमा पुगेका म्याग्देलीहरु आवद्ध म्याग्दी प्रवासी नेपाली संघ (मोना)ले जिल्लामा लगानी भित्र्याउने तयारी गरेको छ । मोनाको गत विहिवार कतारको दोहामा बसेको बैठकले प्रवासी म्याग्देलीहरुको आफ्नो जन्मथलोमा सामुहिक लगानी भित्र्याउने निर्णय गरेको हो । कृषि, पशुपालन, जडिवुटी, उर्जा, पर्यटन, खानीको क्षेत्रमा लगानी भित्र्याउनका लागि मोनाका पूर्व अध्यक्ष योगेन्द्र क्षेत्रीको संयोजकत्वमा सम्भाव्यता अध्ययन टोली गठन गरेको मोनाका अध्यक्ष चक्रबहादुर थापाले बताउनुभयो ।

कतारबाट एक करोड, न्युजिल्याड, बेलायत, नेदरल्याड र बेल्जियमबाट १० करोड रुपैयाँ सामुहिक लगानीको प्रतिवद्धता आइसकेको र अन्य देशका प्रवासीहरुलाई पनि सहभागी गराइने भएको छ । बैठकले मोनाको तेस्रो महाधिवेशन आगामी अक्टोबर १, २ र ३ तारिखमा म्याग्दीको अन्नपूर्ण गाउँपालिका ६ मा पर्ने पर्यटकीय स्थल घोडेपानीमा गर्ने निर्णय भएको अध्यक्ष थापाले बताउनुभयो ।  विभिन्न देशमा मोनाले गरेका गतिबिधि र सदस्यहरुको अभिलेखीकरण तथा उजागर गर्न महाधिवेशनको अवसरमा स्मारिका प्रकाशन गर्न महासचिव मिम पुर्जा संयोजक र सबै देशको कार्यसमिति सदस्य रहने गरेर कार्यदल गठन भएको छ ।

महिला तथा बालबालिका अक्षयकोषलाई व्यवस्थाप गर्ने, कार्यबिधि तयार गर्ने, बोलकबोल भएको रकम उठाउने र नयाँ दाताहरु खोज्ने निर्णय भएको छ । उपाध्यक्ष प्रेम रसाइलीलाई मोनाको ब्याज र परिचयपत्र बनाउने जिम्मेवारी दिइएको छ ।

सबैभन्दा छिटो १४ वटा हिमाल आरोहण गरेर विश्व किर्तीमान बनाउने अभियानमा लाग्नुभएका म्याग्देली निम पुर्जाको अभियानलाई सफल बनाउन प्रचारप्रसार गर्ने निर्णय भएको छ । म्याग्दीका ६ वटै स्थानीय तहमा खेलकुद आयोजना गर्न उपाध्यक्ष योगकुमार फगामीलाई खेलकुद कार्यदल गठन भएको छ । आगामी केन्द्रिय  समिती  बैठक हङकङमा बस्ने निर्णय पनि भएको छ ।