हिउँले विकासका काम ठप्प

  • २३ फाल्गुन २०७५, बिहीबार
  • 1734 पटक पढिएको

 

जोमसोम २३ फागुन । प्रतिकुल मौसम र निरन्तरको हिमपातका कारण हिमाली जिल्ला मुस्ताङमा सञ्चालित विकास आयोजनाहरु ठप्प भएका छन् । सडक, पुल, भवन, सिचाई, खानेपानी लगायतका पूर्वाधार आयोजनाको काम ठप्प बनेको हो । मजदुर र उपकरण परिचालन हुन सकेका छैनन् । स्थानीय तह, प्रदेश र संघीय सरकार मातहतका कार्यालयका योजना प्रभावित भएको छ ।

विगतका वर्षमा मंसिरदेखि माघसम्म रोकिने विकास आयोजनाको काम फागुनदेखि सूचारु हुने गर्थे । यसपालि फागुनको तेस्रो साता सम्म पनि हिमपात भएकाले विकासको काम ठप्प बनेको जिल्ला समन्वय समितिका प्रमुख छिरीङ ल्हमो गुरुङले बताए ।
‘दाङ, धादीङ, बाँके, बर्दीयाबाट आएका मजदुरहरु चिसोले काम गर्न नसकेपछि फर्कीएका छन्’, गुरुङले भन्नुभयो ‘जमेको हिउँ नपग्लीएकाले डोजर, लोडर जस्ता उपकरण पनि परिचालन हुन सकेको छैन ।’
राष्ट्रिय गौरवको कालीगण्डकी कोरीडोर अन्तरगत बेनी–जोमसोम–कोरला सडक आयोजनाको मुस्ताङ खण्डको सडक विस्तार, पर्खाल र नाली निर्माणको काम पनि ठप्प छ । तयारी अवस्थामा रहेको चार वटा मोटरेबल पुलको ढलान गर्ने काम हिउँका कारण रोकीएको आयोजनाका प्रमुख मुकुन्द अधिकारीले बताए ।
जोमसोम–कोरला सडकको निर्माण कम्पनी अमित विल्डर्सका सञ्चालक अमित तुलाचनले चिसोले काम गर्न नसकेपछि तराइबाट आएका मजदुर फर्कीएका बताए । विकास आयोजनामा ढिलासुस्ती हुनुका साथै पुजीगत बजेट परिचालनमा समस्या देखिएको छ ।
मुस्ताङका ५ वटा स्थानीय तहहरुले पनि बजेट बिनियोजन गरेका योजना तथा कार्यक्रम कार्यान्वयन गर्न सकेका छैनन् । बजेट कार्यान्वयनका लागि अनुकुल मौसमको प्रतिक्षामा रहेको जनप्रतिनिधिहरुको भनाई छ । कागबेनीदेखि उपल्लो मुस्ताङ जोड्ने सडकमा गत पुष यता यातायातका साधन सञ्चालन हुन सकेका छैनन् ।
सडकमा बाक्लो हिउँ जमेकाले स्थानीयबासीलाई आवत जावत र ढुवानीमा समस्या भएको छ । चौरीगाई, भेडा र च्याङग्रालाई चरनको अभावले मर्न थालेका छन् । जाडो छल्न बेशी झरेका उपल्लो मुस्ताङका बासिन्दा घर फर्कन सकेका छैनन् । उनिहरु बेनी, पोखरा र जोमसोममा सडक खुलेर यातायात सञ्चालन हुने प्रतिक्षा गरेर बसेका छन् ।
मृग, घोरल, कस्तुरी मृग जस्ता वन्यजन्तुहरुलाई पनि आहराको अभावले प्रभावित बनेका अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एकयाप)की रेञ्जुर धनु गुरुङले बताए । जिसस प्रमुख गुरुङले हिउँ पन्छाएर सडकमा सवारी सञ्चालन गरी आवत जावत र ढुवानीलाई सहज बनाउन प्रयास गरिएको बताएका थिए ।