पिप्ले स्वास्थ्य चौकीको भवन हस्तान्तरण

  • २३ फाल्गुन २०७५, बिहीबार
  • 2469 पटक पढिएको

 

म्याग्दी २३ फागुन । रघुगंगा गाउँपालिका ३ पिप्ले मा निर्माण भएको स्वास्थ्य चौकीको भवन बुधबार हस्तान्तरण गरिएको छ । सहरी विकास तथा भवन निर्माण विभाग संघीय आयोजना कार्यान्वयन इकाई कास्कीले निर्माण गरेको भवन स्वास्थ्य चौकी व्यवस्थापन समितिलाई हस्तान्तरण गरिएको हो । निर्माण व्यवसायी नारायण जिसीले कार्यालयका प्रतिनिधि र स्थानीयबासीको उपस्थितीमा स्वास्थ्य चौकी व्यवस्थापन समितिका अध्यक्ष समेत रहनुभएका वडा अध्यक्ष जिवनकुमार मल्ललाई भवन हस्तान्तरण सम्बन्धि कागजात उपलब्ध गराएका थिए । तत्कालीन सहरी विकास तथा भवन निर्माण डिभिजन कार्यालय बागलुङले एक करोड ८५ लाख रुपैयाँमा मुक्तिनाथ–बिएन जेभीसँग ठेक्का सम्झौता गरेको थियो ।


१८ महिनामा सम्पन्न गर्ने लक्ष्य भएपनि निर्माण व्यवसायीको चरम ढिलासुस्ती र लापरबाहीका कारण तीन वर्षमा भवन बनेको वडा अध्यक्ष मल्लले बताए । उनका अनुसार अन्तिम किस्ता भुक्तानीको प्रक्रियाका लागि भवन हस्तान्तरण भएपनि केही काम अझै बाँकी रहेकाले व्यवसायीले सो काम पुरा गरेपछि मात्र भवन प्रयोगमा ल्याउने समझदारी भएको छ । १९ वटा कोठा भएको दुई तले भवनमा प्रशासनिक, स्वास्थ्यकर्मी आवास, बिरामी उपचार, औषधी भण्डारण, शैया रहने छुट्टा÷छुट्टै कक्ष छन् । भुकम्प प्रतिरोधी क्षमताको भवन अपाङ्ग मैत्री पनि छ ।

रघुगंगा गाउँपालिको ३ नम्बर वडाका बासिन्दाले सेवा लिने पिप्ले स्वास्थ्य चौकी हाल जीर्ण र साँघुरो कोठा भएको पुरानो भवनमा सञ्चालन हुदै आएको छ । मालिका गाउँपालिका ४ च्युरीबोट र अन्नपूर्ण गाउँपालिका ८ राम्चेमा निर्माण भएको भवन हस्तान्तरण भइसकेको छ । मंगला गाउँपालिका ३ बरंजामा निर्माण भएको स्वास्थ्य चौकीको भवन पनि हस्तान्तरणको तयारीमा छन । देविस्थान, घार र कुहुँ स्वास्थ्य चौकीको भवन निर्माण कार्य समेत अन्तिम चरणमा पुगेको छ ।
हिस्तान, कुईनेमंगले, मल्कवाङ र पुलाचौर स्वास्थ्य चौकीको निर्माणाधिन अवस्थामा छन् । गत आर्थिक वर्षमा बिम र भगवती स्वास्थ्य चौकीको भवन निर्माण सम्पन्न भएको थियो । सदरमुकाम स्थित बेनी अस्पतालको पचास शैया क्षमताको भवन निर्माणाधिन अवस्थामा छ । अस्पताल परिसरमा दुई वटा चिकित्सक र स्वास्थ्यकर्मी आवास भवन निर्माण कार्य अन्तिम चरणमा पुगेको छ ।