मालिका गाउँपालिकाको कार्यालयका लागि जग्गाको व्यवस्थापन

  • २२ फाल्गुन २०७५, बुधबार
  • सन्तोष गौतम
  • 1979 पटक पढिएको

बेनी २२ फागुन । दरवाङमा मालिका गाउँपालिका लगायत सरकारी कार्यालय र सुरक्षा निकायको भवन निर्माणका लागि जग्गाको व्यवस्थापन भएको छ । गाउँपालिका र वडा कार्यालयले बुधबार आयोजना गरेको भेला मार्फत दरवाङको छ्यारछ्यारेमा ५३ रोपनी सार्वजनिक जग्गा व्यवस्थापनका लागि स्थानीय स्तरमा सहमती जुटेको हो ।समुदाय स्तरबाट जुटेको सहमती कार्यान्वयनका लागि जिल्ला प्रशासन कार्यालय मार्फत संघीय सरकारको मन्त्री परिषद्बाट निर्णय गराउन प्रक्रिया अघि बढाइने गाउँपालिकाका अध्यक्ष श्रीप्रसाद रोकाले जानकारी दिए ।

सो स्थानमा गाउँपालिकाको साथै इलाका प्रहरी कार्यालय, खेलमैदान, अस्पताल र बसपार्क समेत निर्माण गरिने अध्यक्ष रोकाले बताए । भेलामा प्रजिअ लीलाधर अधिकारी, मालपोत अधिकृत मुकुन्द पौडेल, डिभिजन वन अधिकृत हरिशचन्द्र सापकोटा, प्रहरी नायव उपरिक्षक महेन्द्रप्रसाद मरासीनी, नापी कार्यालयका प्रतिनिधिका साथै स्थानीयबासी, अगुवा र जनप्रतिनिधिहरुको उपस्थिति रहेको थियो ।गाउँपालिकाको कार्यालय हाल वडा कार्यालयको भवनबाट सञ्चालन हुदै आएको छ । भाडाको घरबाट सञ्चालन हुदै आएको ईलाका प्रहरी कार्यालय दरवाङका लागि एक दशकदेखि जग्गाको खोजी भइरहेको थियो ।

जग्गा व्यवस्थापनको लागि जुटेको सहमती गाउँपालिका र दरवाङका लागि महत्वपूर्ण उपलब्धि भएको वडा अध्यक्ष सन्तनाथ सुवेदीले बताए । म्याग्दी नदी किनारमा रहेको सार्वजनिक जग्गालाई पहिले संरक्षण गरेर त्यसपछि पूर्वाधार निर्माणको काम गरिने उपाध्यक्ष खरमाया बिटालुले बताईन ।उपाध्यक्ष बिटालुले सहमती अनुसार मन्त्रिपरिषद्बाट जग्गा व्यवस्थापनका लागि निर्णय गराउन प्रक्रिया अघि बढाइने बताएकी थिईन ।

सन्तोष गौतम