टिकापुर घटनामा दोषि ठहर गर्दै साँसद रेशमलाल चौधरीसहित ११ जनालाई जन्म कैद

  • २२ फाल्गुन २०७५, बुधबार
  • 2053 पटक पढिएको

धनगढी, २२ फागुन । साढे तीन वर्षअघि नौ जनाको ज्यान जाने गरी भएको टीकापुर घटनाको मुद्दामा दोषि ठहर गर्दै रेशमलाल चौधरीसहित ११ जनालाई जन्मकैदको फैसला सुनाइएको छ । कैलाली जिल्ला अदालतले टीकापुरको घटनासँग सम्बन्धित मुद्दामा प्रतिवादी हरिनारायण चौधरी, राजकुमार कठरिया, सुन्दरलाल कठरिया, वृजमोहन डगौरा, राजेश चौधरी, वीरबहादुर चौधरी, प्रदीप चौधरी, विद्रोह भनिने सीताराम चौधरी, श्रवण चौधरी, गङ्गाराम डगौरा र रेशमलाल चौधरीसहित ११ जनालाई मुलुकी ऐन ज्यानसम्बन्धी महलको १३९३० नं बमोजिम जनही जन्मकैदको सजाय हुने ठहर भएको जिल्ला अदालतका स्रेस्तेदार इन्द्रबहादुर कठायतले जानकारी दिनुभयो ।

प्रतिवादीमध्ये श्रवण नाबालक देखिएकाले निजलाई बालबालिकासम्बन्धी ऐनानुसार आधा सजाय अर्थात १० वर्ष कैद हुने ठहर अदालतले गरेको छ । जिल्ला न्यायाधीश पर्शुराम भट्टराईको इजलासले गरेको मुद्दाको फैसलानुसार उक्त घटनाका प्रतिवादी लक्ष्मण थारु (चौधरी), लाहुराम चौधरी, रामकुमार कठरिया, सन्तराम चौधरी, विश्राम भनिने जीतबहादुर डगौरा, किशनलाल चौधरी, दिबहादुर चौधरी, सङ्गम भनिने सन्तोष थारु चौधरी, विश्राम चौधरी, चुन्नीराम चौधरी र रामप्रसाद चौधरीलाई मुलुकी ऐन ज्यानसम्बन्धी जनही तीन वर्ष कैद हुने भएको छ ।

जन्मकैदको सजाय पाएका रेशमलाल प्रतिनिधिसभा सदस्यका लागि राजपाबाट कैलालीको निर्वाचन क्षेत्र १ बाट निर्वाचित भएका थिए । केही महीनाअघि मात्रै जिल्ला अदालतमा उपस्थित उनलाई कैलाली कारागारबाट केन्द्रीय कारागारमा स्थानन्तरण गरिएको थियो । हालै उनलाई शपथग्रहणसमेत गराइएको थियो ।  मुद्दामा यही फागुन १५ गतेदेखि नियमित सुनुवाइ भएकामा आज फैसला सुनाइएको हो । उक्त मुद्दाका ५८ प्रतिवादीमध्ये ३१ जना फरार छन । सत्ताइस जना प्रतिवादी पुर्पक्षका लागि थुनामा थिए । थरुहट/थारुवान राज्यको माग गर्दै टीकापुरमा भएको आन्दोलनका क्रममा विसं २०७२ भदौ ७ गते भएको हिंसामा परी एक नाबालक र आठ प्रहरीको ज्यान गएको थियो ।