मोना युएईद्वारा चिमखोलाकी इन्दिरा पुन ‘उसा’लाई आर्थिक सहयोग

  • २१ फाल्गुन २०७५, मंगलवार
  • 4005 पटक पढिएको

म्याग्दी २१ फागुन । युएईमा खुट्टामा समस्या आएपछि समस्यामा परेकी म्याग्दीको रघुगंगा गाउँपालिका– ७ चिमखोलाकी इन्दिरा पुन (उसा) लाई म्याग्दी प्रवासी नेपाली संघ( मोना) युएईले आर्थिक सहयोग गरेको छ । एक्कासी खुट्टामा समस्या आएपछि हिँडडुल गर्न समेत नसक्ने भएको र कम्पनीले उपचारमा बेवास्ता गरेपछि मोना युएईले उनलाई घर फिर्ताको लागि रु ३२ हजार आर्थिक सहयोग गरेको हो ।


एक महिनाअघि रोजगारिको शिलसिलामा युएईमा पुगेपनि पुनको स्वास्थ्यमा समस्या आएर स्थानीय अस्पतालमा चेकजाँच गर्दा खुट्टामा देखिएको समस्याको उपचार गर्दा ठुलो खर्च लाग्ने भएपछि नेपाल फर्किएर उपचार गर्ने पुनको चाहना अनुसार मोना युएईले आर्थिक संकलन गरि सहयोग गरि उनको उद्धार गरेको महासचिब सुवास राम्जालीले जानकारी दिए ।

सारजहा स्थित अकोरीओ कम्पनिमा वेटेरको काम भनी दुबइ पुगेकी पुनलाइ त्यहाँ पुगेपछि भने ग्रहौँ मेसीन चलाउनुपर्ने काममा लगाईएको थियो । सो कामबारे तालिम लिएर नियमति काममा प्रवेश गर्नुअघि नै उनको खुट्टामा समस्या देखिएपछि उनी थप समस्यामा परेकी थिईन् ।
युएईमै उपचार गराउन ठुलो रकम लाग्ने भएपनि कम्पनिले सहयोग नगरेपछी उनले नेपाल फर्किन लागेकी हुन् । यस अघि भलिवल खेलाडी रहेकी पुनलाई हङकङमा खेल खेल्ने क्रममा खुट्टामा चोट लगेको थियो । सोही चोटको कारण अहिले समस्या परेको हुनसक्ने पुनले बताईन् ।

युएईमै समस्यामा परेका म्याग्देलीहरुलाई प्राथमिकतामा राखेर सहयोग र समन्वय गर्ने संस्थाको निर्णय बमोजिम पुनलाई आकस्मिक रुपमा सहयोग संकलन गरी नेपाल फर्कने वातावरणको लागि सहयोग गरिएको महासचिब राम्जालीले बताए । मोना युएईले संकलन गरेको सो सहयोग सल्लाहकार तथा खेलकुद संयोजक भिम कुमार राना मगर, उपाध्यक्ष टेक फगामी, महासचिब सुवास राम्जाली,कोषाध्यक्ष बेक प्रसाद पुन, सदस्य बेल फगामी, मायाँ पुन लगायतले हस्तान्तरण गरेका थिए ।