किन जानु पर्छ डाँडाखानी

  • २९ कार्तिक २०७३, सोमबार
  • 2085 पटक पढिएको

बिहानीको राता लालीहरुमा सुनौला बनेका धवलागिरी,निलगिरी तथा मुकुट चुरेनहरु चिहाई रहँदा,मंगलाको सुस्साहत सँगै उता चिप्लेतिका शितल बायुले स्पर्श गरिसकेका हुन्छन उनका ओठहरुमा । न्यानो सुनौला सुर्यका किरणहरुमा हरिया डाँडा माथि लतरम्म पहेलपुर बनेका सुन्तलाका बगैचाहरुले धर्तीनै उज्यालो बनाएको हुन्छ । हातमा सुन्तलाका केस्रा लिएर डोका बोकी ओहोर दोहोर गर्ने पल्लवित फूलहरु देख्दा,सुन्तलाका सुगन्धमय त्यो बाताबरण साच्चिकै अतभूत अनुभुतिहरु छलाङ् मार्न थाल्छन ।

बाँसुरीका सुरिला स्वरहरुमा रमेका चिरबिर चरिहरु, पहरामा गुञ्जयमान बनेका कोकिल कण्ठहरु, मादलु र मुर्चङ्गा तालमा नाचेका पाउजुहरुले स्वर्गको अनुभूति बनाईरहेको हुन्छ हरेक लोक पारखिहरुलाई । परापूर्व काल देखि बज्ने पञ्चेबाजाले झनै कसलाई ननचाउला र । शितलतालाई न्यानो बनाउन, लाजले ओठ लेब्रयाउँदै सगुन बोकेर आएकी सरिताहरुसँग आँखा जुझदा मुटुमा पे्रमको तार चलेको अनुभुति कसलाई नहोला र । हो यही विबिध मन मोहक अतभूत अनुभूतिको लागि एक पटक जानुपर्छ तुलसी पूर्णीमा मेला डाँडाखानी ।

लोक कला र संस्कृति हामी नेपालीका ढुकुढुकी हुन । हाम्रा शरिरका नशा नशामा बग्ने हाम्रा लोक संस्कृतिहरु हाम्रा पुर्खाहरुका सम्पति हुन त्यही हाम्रा पुर्खाहरुले बचाएको हाम्रा सांस्कृतिक इतिहाँसका एउटा ज्योति हो तुलसी पूर्णिमा मेला र यहाँ पूर्णिमाका दिन गरिने पुजा आरधना ।

स्थानिय लोक संस्कृतिमै जन्मे हुर्केर शिक्षा क्षेत्रमा बिद्धत कहलिनु भएका शिक्षा बिद् श्री दुर्गा राम सुबेदी भन्नु हुन्छ,“कला संस्कृति हाम्रो पहिचान हो । हाम्रो गौरव हो । म्याग्दी जिल्लामा मात्र नभएर धौलागिर अञ्चलमै फरक बिशेषता बोकेको स्थानिय लोक संस्कृति यहाँ पाइन्छ । हामी यसको जगेर्ना गर्नुपर्छ ।”

यही कुरालाई प्रष्ट पार्दै अर्का स्थानिय बिद्धान तथा प्रध्यापक श्री रामजी सुबेदी भन्नु हुन्छ,“यो तुलसी पूर्णिमा मेलाले हाम्रो लोक संस्कृतिलाई बचाएको मात्र छैन । यसले चर्चित कलाकारहरु जस्तै सपना खाती, बिनोद बि क, बसन्त कार्की,बिमल क्षेत्री तथा राजन रोका यही मेलाको प्रतिफल मान्न सकिन्छ ।” हो साचिकै भन्नु पर्दा तुलसी पूर्णिमा मेलाले शुद्ध मनोरञ्जन मात्र नभएर यहाँका प्रतिभाशाली युवाहरुलाई राष्ट्रिय स्तरमा चिनाउन सफल भएको छ । यही भाषा सस्कृति बचाउन र युवाहरुको प्रतिभालाई मुखरित गर्न हिमचुली स्पोर्ट क्लव निरन्तर लागि परेको छ ।

“तुलसी पूर्णिमा मेलाको एउटा आकर्षण भनेको पूर्णिमाको रातमा गरिने पुजा हो । पूर्णिमा मध्यरातमा देवी देवताको पुजा आरधना गरेपछि मिठा परिकार खाँदै, गीत गाँउदै रमाइलो गरिन्छ ।” स्थानिय समाजिक एक्टिभिस्त मनकुमारी खाती भन्नु हुन्छ । उहाँले थप्नु हुन्छ, “यहाँ पुजा आरधना मात्र हैन, हिमचुली स्पोर्ट क्लवले गर्ने गर्ने सचेतना मुलक कार्यक्रम तथा लोक झाँकि, लोक गीत, लोक नृत्य तथा छन्त्याल जातिका बिशेष खानाका परिकारहरु यहाँका आकर्षणहरु हुन ।

साथै भलिबाल,ताराहान्ने, लोक गीत, लोक नृत्य, घैटा फोर्ने, लठो तान्ने जस्ता प्रतिस्प्रधात्मक खेलहरुले युवाहरुका आर्कषण बढेको छ । साँझ संगै बज्ने बासुरीका सुरिला धुनमा, घन्किने मादलु र मुर्चुङ्गा सँग प्रस्तुत गरिएका लोक नाचहरुले चिसिदै गरेको साँझलाई थप न्यानो बनाउँछ । हाम्रो यो तुलसी पूर्णिमा मेलामा धवालागिरी अञ्चलका पर्बत, बागलुङ बेनी, मुस्ताङबाट मात्र होइन, पोखरा र आसपासका क्षेत्रबाट पनि आउने गरेका छन ।” हुन पनि हाम्रा स्थानिय संस्कृतिको बिकास र स्थानिय उत्पादनको व्यापार प्रंबर्धनको लागि यसरी नै स्थानिय युवाहरुको जागरुपताको आवश्यक्त्ता पर्दछ ।

हरेक बर्ष झै यो बर्ष पनि तुलसी पूर्णिमा मेला शुरु भएको कुरा लक्ष्य पुनले जानकारी गराउनु भयो । उहाँले थप्दै भन्नु भयो, “गत बर्षहरु झै यो बर्ष पनि बिभिन्न खेलहरुको आयोजना गरेका छौ । लोक गीत, नृत्य,भलिवल तथा लगायत बिभिन्न खेलका बिधामा प्रतिस्प्रधा आयोजना गरेका छौ ।

यो बर्ष पनि हामी सबै दाजुभाई दिदीबहीनीहरुमा एक पटक आएर स्थानिय सुन्तला, बदाम तथा छन्त्याल जातिको मिठा परिकारको स्वाद लिनको लागि अनुरोध गर्दछौ ।” बेनी बजार देखि खुट्टाले हिडेर झन्डै दुई घण्टा तथा सवारी साधनबाट जम्मा ४५ मिनेट लाग्ने डाँडाखानीमा आफ्ना प्रतिभाको प्रस्फूतन, मिठा सुन्तलाको स्वाद लिन, स्थानिय परिकारका स्वाद लिन तथा मनोरञ्जन सहित कलासस्कृतिको प्रबर्धन र बिकाश गर्न पनि डाँडाखानी एकपटक घुम्न जानैपर्छ ।

धनु लेकाली
म्याग्दी