‘म्याग्दीको पहिचान स्थापितः हिमाली जिल्लाको मान्यता निश्चित’

  • १८ फाल्गुन २०७५, शनिबार
  • कमल खत्री
  • 4460 पटक पढिएको

कमल खत्री
म्याग्दी, १८ फागुन ।
म्याग्दीको भौगोलिक पहिचान स्थापित हुने भएको छ । संसारको सातौ अग्लो धौलागिरी हिमाल (८,१६७ मिटर) सहित दर्जनौ हिमशृङ्खला भएको म्याग्दी हिमाली जिल्लाको रुपमा कायम हुने निश्चित भएको हो । म्याग्दीलाई हिमाली जिल्लामा समावेश गर्ने प्रस्ताव समेटिएको ‘केही नेपाल ऐन संशोधन गर्ने विधेयक, २०७५’ शनिबार राष्ट्रियसभाले स्वीकृत गरेपछि हिमाली जिल्लाको मान्यता पाउने निश्चित भएको भएको म्याग्दीका प्रतिनिधि सभाका साँसद भुपेन्द्र बहादुर थापाले जानकारी दिनुभयो ।

म्याग्दीलाई हिमाली जिल्ला कायम गर्ने प्रस्ताब जिल्लामा हिमाली भुभाग ओगटेका स्थानीय तह, जिल्ला समन्वय समिति, गण्डकी प्रदेश सरकार, प्रतिनिधिसभा हुदै राष्ट्रियसभाबाट स्विकृत भएको हो । राष्ट्रिय सभाबाट स्वीकृत गरेको प्रस्ताव राष्ट्रपतिले प्रमाणीत गरेपछि कार्यान्वयन हुने प्रतिनिधि सभा सांसद थापाले जानकारी दिनुभयो ।यो उपलब्धीले म्याग्दीको गुमेको पहिचान स्थापित भएको छ । म्याग्दीलाई हिमाली जिल्ला कायम गर्न चौतर्फि पहल भएको थियो । यस अघि संघिय संसदको बैठकमा बिशेष समय लिएर सांसद भुपेन्द्र बहादुर थापा र गण्डकी प्रदेश सभामा बिशेष समय लिएर साँसद विनोद केसीले हिमाली जिल्ला घोषणाको लागि म्याग्दीको हरेक आधार रहेको भन्दै सरकारको ध्यानकर्षण गराउनुभएको थियो ।

आधा दर्जन हिमालहरु अवस्थित र भौगोलिक बिकटतालाई आधार मानेर म्याग्दीलाई हिमाली जिल्लाको पहिचान दिनुपर्ने आवाज उठ्दै आएको थियो । हिमाल नजिकका वस्तीहरु पहाडी भेगमा सूचीकृत हुँदा राज्यले हिमाली भेगका अन्य जिल्लाका बासिन्दालाई दिने सेवा सुविधाबाट म्याग्दीका दुर्गम बस्तीका बासिन्दा बञ्चित भएका छन् । हिमाली जिल्ला भएपछि स्थानीय तहलाई संघीय र प्रदेश सरकारले दिने अनुदान र कर्मचारीहरुको सेवा सुबिधा बढेर आकर्षित हुने वातावरण बन्ने जिसस प्रमुख देवेन्द्र केसीले बताउनुभयो । ‘म्याग्दीको करिब आधा भू–भाग नै हिमाली क्षेत्रमा पर्ने हुँदा हिमाली जिल्लामा सूचिकृत गराउन पहल गरिएको थियो, हिमाली भूगोल भएको म्याग्दी पहाडी जिल्लामा पारिएका कारण बजेट बिनियोजनदेखि पर्यटन प्रवद्र्धनमा समेत प्रत्यक्ष असर परेको थियो, अब जिल्लाको आफ्नै पहिचान स्थापित हुने खवरले उत्साहीत बनाएको छ ’’–केसीले भन्नुभयो ।

म्याग्दीका तिन वटा स्थानीय तह धौलागिरी, अन्नपूर्ण र रघुगंगा गाउँपालिका हिमालले समेटीएको र जिल्लाभित्र धौलागिरि, अन्नपूर्ण, निलगिरी, गुर्जा र चुरेन लगायतका हिमाल अवस्थित रहेकाले म्याग्दीलाई हिमाली जिल्ला कायम गराउन सरकालाई आग्रह गरिएको थियो ।
गण्डकी प्रदेश सरकारको मन्त्रीपरिषदले समेत म्याग्दीलाई हिमाली जिल्ला कायम गराउन संघिय सरकार समक्ष माग गर्ने निर्णय गरेको थियो । म्याग्दीको जिल्ला समन्वय समितिको पहिलो बैठकले नै जिल्लालाई हिमाली जिल्ला कायम गराउन सम्बन्धित निकायमा माग गर्ने र पहल गर्ने निर्णय गरेको थियो ।

म्याग्दीमा विश्व प्रसिद्ध धौलागिरि, अन्नपूर्ण प्रथम, चुरेन, गुर्जा, मानापाथी, पुठा, बराह शिखर, लगायतका दर्जनौ हिमशृङ्खला रहेपनि म्याग्दीलाई अहिलेसम्म पनि पहाडी जिल्लाको रुपमा सुचिकृत गरिएको थियो । जिल्लाको दुई गाउँपालिकाको नामाकरण समेत हिमालकै नामबाट गरिएको छ । मुदीमा अवस्थित संसारको सातौ अग्लो धौलागिरि हिमालबाट धौलागिरि गाउँपालिका र नारच्याङमा अवस्थित अन्नपूर्ण हिमालबाट अन्नपूर्ण गाउँपालिका नामाकरण गरिएको छ । धौलागिरि गाउँपालिका–४ मुदीमा धौलागिरी प्रथम देखि छैटौँ सम्मका पिक रहेका छन् । मानापाथी हिमालको चुचुरो समेत मुदीमै पर्छ । धौलागिरी हिमालले रघुगंगा गाउँपालिकाको कुइनेमंगले र चिमखोलालाई समेत समेटेको छ ।

जिल्ला सदरमुकाम बेनी देखि २६ कोष टाढाको दुरीमा रहेको धौलागिरि गाउँपालिका–१ गुर्जामा गुर्जा, गुर्जा पश्चिम, चुरेन र पुथा हिमाल रहेका छन् । पुथा हिमाल म्याग्दीको गुर्जा, डोल्पा र रुकुमको सिमानामा पर्छ । अन्नपूर्ण गाउँपालिका– ४ नारच्याङमा अन्नपूर्ण प्रथमको आधार शिविर नै रहेको छ । बराह शिखर हिमाल समेत रहेको नारच्याङमा निलगिरि हिमालको दक्षिण र पूर्वि मोहोडा समेत पर्छ । अन्नपूर्ण गाउँपालिका –५ शिखको पाउद्धार तर्फको लेकले अन्नपूर्ण दक्षिण भेगलाई समेटीएको छ । यिनै हिमाल संगै म्याग्दीमा दर्जनौ हिमालका चुचुराहरु रहेका छन् ।

कमल खत्री

म्याग्दी अनलाईन डट् कमका सम्पादक हुन् l