फेरि चमत्कार गर्न बार्सिलोना असफल, डर्टमण्ड पनि बाहिरयो

  • ७ बैशाख २०७४, बिहीबार
  • 1833 पटक पढिएको

वैशाख ७ – पहिलो लेगमा ३–० गोलअन्तरले पछि परेको स्पेनिस च्याम्पियन बार्सिलोनालाई दोस्रो लेगमा जित हासिल गर्न चमत्कार नै चाहिएको थियो ।

अन्तिम १६ मा फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेनसँग पहिलो लेगमा ४–० ले पराजित भए पनि दोस्रो लेगमा बार्सिलोनाले अद्भुत खेल प्रदर्शन गर्दै अन्तिम आठको यात्रा तय गरेको थियो ।

बुधबार राती बार्साले त्यस्तै चमत्कार दोहोराउने छ भन्ने धेरै समर्थकहरुको आशा थियो तर त्यो हुन सकेन ।


युभेन्टसले उत्कृष्ट रक्षात्मक खेल प्रदर्शन गर्दै गोल गर्न रोकेपछि बार्सिलोना च्याम्पियन्स लिगको क्वाटरफाइनलबाट नै बाहिरिन पुगेको छ ।

बार्सिलोनाले खेलमा नियन्त्रण राख्दै १९ पटक विपक्षीको पोष्टमा आक्रमण गरे पनि १ वटा मात्र आक्रमण लक्ष्यमा लागेको थियो ।


बार्सिलोनाले दुवै लेगमा एक गोल पनि गर्न सकेन । यसअघि म्यान्चेस्टर युनाइटेड, बायर्न म्युनिखले मात्र क्याटालान क्लबलाई यसरी गोल गर्न दिएको थिएन ।

युभेन्टसका गोलकिपर जियानलुइजी बुफोनले च्याम्पियन्स लिगमा ४६ क्लिन सिट राख्न सफल भएका छन् । उनीअघि इकर कासियास (५४), एडविन भान डर सार (५०) र पिटर चेक (४७) मात्र अघि रहेका छन् ।


यो सिजन उनले ९ खेलमा ७ खेलमा गोल खाएका छैनन् । युभेन्टसले हालसम्म दुई गोल मात्र खाएको छ ।

युभेन्टसले सन् १९९६ मा पछिल्लो पटक यो उपाधि जितेको थियो ।

रियल म्याड्रिड, एथ्लेटिको म्याड्रिड र मोनाकोसँगै युभेन्टसले अन्तिम ४ मा स्थान बनाएको छ । सेमिफाइनलको ड्र शुक्रबार हुनेछ ।

उता, दोस्रो लेगमा बोरुसिया डर्टमण्डलाई ३–१ ले हराउँदै मोनाकोले पनि अन्तिम चारमा स्थान बनायो ।

मोनाकोले समग्रमा ६–३ को जित निकाल्न सफल रह्यो ।