पत्रकार सन्तोष गौतमलाई के.डी बर्ष पत्रकारिता पुरस्कार प्रदान

  • ११ फाल्गुन २०७५, शनिबार
  • 1816 पटक पढिएको

सिमलचौर ११ फागुन । म्याग्दीका पत्रकार सन्तोष गौतम शनिबार के.डी वर्ष पत्रकारिता पुरस्कार २०७५ बाट सम्मानीत भएका छन् । मंगला गाउँपालिका २ सिमलचौरमा रहेको के.डी कटेज प्रा.लीले तेस्रो वार्षिक उत्सवको अवसरमा समाचारको माध्यमबाट कृषि र ग्रामिण पर्यटन क्षेत्रको विकासमा पु¥याएको योगदान वापत गौतमलाई ११ हजार १११ रुपैयाँ राशीको पुरस्कार प्रदान गरेको हो ।

अन्नपूर्ण पोष्ट्, रासस, सगरमाथा र धवलागिरी टेलिभिजनको म्याग्दी सम्बाददाता गौतम म्याग्दीबाट प्रकाशन हुने रिखार दैनिक पत्रिकाको प्रकाशक र म्याग्दी काली एफ एमको बरिष्ठ सम्बाददाता हुनुहुन्छ । नेपाल पत्रकार महासंघको गण्डकी प्रदेशका सदस्य समेत रहेका एक दशकदेखि म्याग्दीमा क्रियाशिल गौतमले यसअघि पनि विभिन्न पुरस्कार प्राप्त गरिसकेका छन् ।

सोही अवसरमा हाल अस्टे«लियामा रहेका अन्नपूर्ण पोष्ट्का पूर्व म्याग्दी सम्बाददाता गोपाल छन्त्याललाई कदरपत्र, नागरिक दैनिक र न्युज २४ टेलिभिजनका म्याग्दी सम्बाददाता तथा बेनी अनलाइनका सञ्चालक हरिकृष्ण गौतमलाई प्रशंसापत्र र दोसल्लाद्धारा सम्मान गरिएको थियो । मंगला गाउँपालिकाका अध्यक्ष सतप्रसाद रोका, वडा अध्यक्ष धनबहादुर खाती, कटेजका सञ्चालक अशोक शर्मा लगायतले पुरस्कार र सम्मानपत्र प्रदान गरेका थिए ।

कृषिमा आधारित पर्यटन र होटल ब्यवसाय गर्ने उद्देश्यले तीन वर्षअघि स्थापीत उक्त कटेजले प्रत्येक वार्षिक उत्सवको अवसरमा गत वर्षदेखि एक जना पत्रकारलाई पुरस्कृत गर्दै आएको छ । उक्त पुरस्कार गत वर्ष कान्तिपुरका घनश्याम खड्कालाई प्रदान गरिएको थियो । प्राकृतिक तातोपानी कुण्ड, टोड्के, गुरील्ला, धौलागिरि चक्रीय पदमार्ग र ढोरपाटन भ्रमणमा जाने आन्तरीक तथा बाह्य पर्यटकलाई लक्षित गरेर ५० लाख रुपैयाँको लागतमा कटेज सञ्चालन गरिएको छ ।

उक्त कटेजमा म्याग्दी खोलाको असला र कटेज परिसरमा पालीएका माछा, गौरीया, गुडुरा धानको चामलको भात, प्राङ्गारीक प्रबिधिबाट उत्पादन गरिएको तरकारी, लोकल कुखुरा, खसीको परिकारको बिक्रीका साथै होमस्टे सुबिधा रहेको छ ।
यसअघि बाह् जना क्षमत्ताको होमस्टे सञ्चालन गरेको कटेजले यस वर्षदेखि सभाहल र सुबिधायुक्त कोठा सहितको डाइनिङ हल बनाएको छ । पुरस्कार वितरण समारोहमा गाउँपालिकाका अध्यक्ष रोकाले स्थानीय कृषि उपजको खपत, बजारीकरण, रोजगारी सिर्जना र ग्रामिण पर्यटन प्रर्वद्धन गर्न कटेजले महत्वपूर्ण योगदान पु¥याएको बताए ।

अध्यक्ष रोकाले युवाहरुलाई उद्यमशिलतामा आकर्षित गर्ने नीति लिएको बताउदै स्वदेशमै रहेर सम्मानित र मर्यादित व्यवसाय गरेर आम्दानी गर्न सकिने सन्देश केडी कटेजका सञ्चालकले दिएको बताए ।
मंगला गाउँ कार्यपालिकाका प्रवत्ता समेत रहेका वडा अध्यक्ष खातीले गाउँपालिकाले पनि पत्रकारिता क्षेत्रको प्रर्वद्धन र विकासका लागि पहल गर्ने बताए ।
निमित्त प्रमुख प्रशासकीय अधिकृत राजेन्द्र आचार्य, पशु सेवा शाखाका प्रमुख दिर्घबहादुर खड्का, सिमलचौरका अगुवा गणेशबहादुर बानियाले शुभकामना मन्तब्य व्यक्त गरेका थिए । कार्यक्रम कटेजका सञ्चालक अशोक शर्माको अध्यक्षता, व्यवस्थापक जिवन शर्माको स्वागत मन्तब्य र सिंगा तातोपानी कुण्ड व्यवस्थापन समितिका सचिव कृष्ण खड्काको सञ्चालनमा सम्पन्न भएको थियो ।