दश जोड दुईमा उत्कृष्ट अंक ल्याउने विद्यार्थी पुरस्कृत

  • ११ फाल्गुन २०७५, शनिबार
  • 1539 पटक पढिएको

सन्तोष गौतम

बेनी ११ फागुन । सुदिप रावल स्मृति कोषले राष्ट्रिय परिक्षा बोर्डले वि.स २०७४ र २०७५ मा लिएको दश जोड दुई तहको परिक्षामा सहभागी भई उत्कृष्ट अंक ल्याउने म्याग्दीका तीन विद्यार्थीहरुलाई शनिबार पुरस्कृत गरेको छ ।वि.स २०६६ फागुन १ गते बागलुङमा दुर्घटनामा परि दिवंगत भएका सुदिप रावलको स्मृतीमा स्थापना भएको कोषले औसत अंकमा जिल्लामा प्रथम, दृतीय र तृतीय हुने विद्यार्थीलाई सम्मान गरिएको हो ।

जिल्ला प्रथम हुने प्रकाश माविकी छलीकुमारी जैसी (३.३१) जिपिए, जनप्रीय मावि दरवाङकी कुलदेवी पुन (३.२१ जिपिए), वेष्ट पोइन्ट आवासीय माविकी अन्तिमा श्रेष्ठ (३.०९ जिपिए)लाई सम्मान गरिएको थियो ।
गण्डकी प्रदेशका सांसद बिनोद केसी, कोषका अध्यक्ष सन्तोष रावल, संरक्षक दुर्गाबहादुर रावल, अगुवा हरिकृष्ण श्रेष्ठ, नेत्रबहादुर महतले उत्कृष्ट अंक ल्याउन सफल विद्यार्थीहरुलाई पुरस्कृत र सम्बन्धित विद्यालयलाई सम्मान गरिएको थियो ।

सम्मानित हुने विद्यार्थी उच्च शिक्षाका लागि जिल्ला र देश बाहिर रहेकाले विद्यालयका शिक्षकलाई कार्यक्रममा सो पुरस्कार प्रदान गरिएको थियो । प्रथम, द्धितीय र तृतीय हुन सफल विद्यार्थीलाई क्रमशः नगद पाँच हजार, तीन हजार पाँच सय र दुई हजार रुपैयाँको साथमा सम्मान पत्र प्रदान गरिएको थियो । त्यस्तै विद्यालयलाई सम्मानपत्र प्रदान गरिएको थियो ।

शिक्षा, स्वास्थ्य र खेलकुदको क्षेत्रमा विभिन्न क्रियाकलाप गर्ने उद्देश्यले रावलको स्मृतिमा परिवारले दुई लाख ५० हजारको अक्षय कोषको स्थापना गरेक गरेका थिए । कोषको रकमलाई बृद्धि गर्दै सामाजिक कार्यहरुमा समेत थप रचनात्मक कार्यहरु गर्ने योजना रहेको कोषका अध्यक्ष रावलले बताए ।

कार्यक्रममा सांसद केसीले स्वर्गीय रावलको स्मृतिमा कोषले शिक्षा, स्वास्थ्य र खेलकुदको क्षेत्रमा गर्दै आएको कार्यहरु रचनात्मक रहेको बताए । केसीले दुर्घटना न्युनीकरणका लागि सडकको अवस्था सुधार र सर्तकता तथा सचेतनामा ध्यान दिनुपर्ने बताए ।
कोषका अध्यक्ष रावलको अध्यक्षता, सचिव बिक्रम बोगटीको सञ्चालन र सदस्य हरिकृष्ण गौतमको स्वागतमा भएको कार्यक्रममा सल्लाहकार नेत्रबहादुर महतले मन्तब्य व्यक्त गरेका थिए ।