मंगला गाउँपालिका स्तरीय राष्ट्रपति रनिङ्ग शिल्डको उपाधी महेन्द्ररत्नलाई

  • ९ फाल्गुन २०७५, बिहीबार
  • 2932 पटक पढिएको

सिजन रोका
बाबियाचौर ९ फागुन । मंगला गाउँपालिकाको केन्द्र बाबियाचौरमा सम्पन्न अन्तर मावि छात्रछात्रा स्तरीय प्रथम राष्ट्रपति रनिङ्ग शिल्ड खेलकुद प्रतियोगिताको उपाधि बरंजाको महेन्द्ररत्न माविले जितेको छ । ११ वटा स्वर्ण, ६ वटा रजत र ९ वटा कास्य पदक जितेर पहिलो भएको महेन्द्ररत्नले रनिङ्ग शिल्ड, ट्रफि, मेडल र प्रमाणपत्र सहित नगद पचास हजार रुपैयाँ पुरस्कार प्राप्त गरेको छ । यसैगरी ७ वटा स्वर्ण, ५ वटा रजत र ३ वटा कास्य पदक जितेको डनिङ आवासीय मावि बाबियाचौर दृतीय तथा ५ वटा स्वर्ण, २ वटा रजत र ३ वटा कास्य पदक जितेको दिपशिखा मावि कुहुँ तेस्रो भएका छन् ।

दृतीय र तृतीय हुने विद्यालयलाई ट्रफि, मेडल र प्रमाणपत्र सहित नगद तीस हजार र बिस हजार रुपैयाँ पुरस्कार उपलब्ध गराइएको गाउँपालिकाले जनाएको छ । छात्र भलिबलमा शिशुकल्याण मावि अर्मन प्रथम र मंगला मावि बाबियाचौर दितृय तथा छात्राको फाइनलमा महेन्द्ररत्न मावि बरंजा र सिद्धशान्ति मावि हिदी दोस्रो भएका छन् ।

भलिबल खेलको फाइनलको गण्डकी प्रदेशकी सामाजिक विकास मन्त्री नरदेवी पुनले उद्घाटन गर्नुभएको थियो । मन्त्री पुनले खेलकुदको विकासका लागि प्रदेश सरकारले प्राथमिकता दिएको बताउनुभयो ।

कवड्डीको फाइनलमा छात्रातर्फ महेन्द्ररत्न मावि प्रथम र डनीङ आवासीय मावि दृतीय तथा छात्रतर्फ मंगला मावि प्रथम र महेन्द्ररत्न मावि दोस्रो भएका छन् । मंगला गाउँपालिकाको आयोजना र मंगला खेलकुद विकास समितिको व्यवस्थापनमा मंगलबारदेखि सुरु भएको प्रतियोगितामा ८ वटा माध्यमिक विद्यालयले सहभागिता जनाएका थिए ।

मंगला गाउँपालिकाका अध्यक्ष सतप्रसाद रोका, उपाध्यक्ष सिर्जना केसी लगायतले बिजयी खेलाडी तथा विद्यालयलाई पुरस्कार वितरण गर्नुभएको थियो ।