दरबाङलाई नदी कटानबाट रोक्न नदी नियन्त्रणको काम सुरु, सेनाले गरे श्रमदान (फोटो फिचर)

  • ९ फाल्गुन २०७५, बिहीबार
  • कमल खत्री
  • 2515 पटक पढिएको

कमल खत्री

बेनी, ९ फागुन ।
म्याग्दीको मालिका गाउँपालिकाको केन्द्र दरबाङ बजारलाई म्याग्दी नदीको कटानबाट बचाउन नदी नियन्त्रणको काम सुरु भएको छ । स्थानीय पूर्वाधार विकास साझेदारी कार्यक्रम अन्र्तगत गाउँपालिका र संघिय सरकारबाट विनियोजन भएको रु ३३ लाख रुपैयाँ बजेटबाट बजार संरक्षणको लागि पक्कि (मेसीनरी)पर्खाल निर्माण गर्न सुरु गरिएको हो ।


दरबाङमा नदी कटान रोक्न गाउँपालिकाले रु ८ लाख बजेट विनियोजन गरेको थियो भने प्रतिनिधिसभा सदस्य भुपेन्द्रबहादुर थापा मार्फत स्थानीय पूर्वाधार विकास साझेदारी कार्यक्रम अन्र्तगत रु २५ लाख बजेट विनियोजन भएको थियो ।संघिय सरकारसंगको साझेदारी कार्यक्रमको रुपमा उपभोक्ता समिति मार्फत नदी नियन्त्रणको काम अघि बढाईएको गाउँपालिकाका अध्यक्ष श्रीप्रसाद रोकाले जानकारी दिनुभयो ।

जनप्रिय माध्यमिक विद्यालयको पुरानो खेलकुद मैदानको छेउबाट बजारतर्फ कटान रोक्न पर्खाल निर्माण भैरहेको छ । यो बर्ष ४० मिटर पक्कि पर्खाल निर्माण गर्ने योजना रहेको गाउँपालिका अध्यक्ष रोकाले बताउनुभयो । योजनामा स्थानीय उपभोक्ताले समेत श्रमदान गर्ने र योजनालाई गुणस्तरीय बनाउन नियमित अनुगमन गरिने गाउँपालिकाका उपाध्यक्ष खरमायाँ बिटालुले जानकारी दिनुभयो ।

सो योजनामा बुधवार अर्थुङ्गे स्थित श्रीबक्स गुल्मका गुल्मपती राजन दाहालको नेतृत्वमा १५ जना सैनीक जवानहरुले श्रमदान समेत गरेको उपाध्यक्ष बिटालुले बताउनुभयो । बर्षातको समयमा नदीको धार बजारतर्फ सोझिन थालेपछि गत बर्षदेखि दरबाङमा नदी नियन्त्रणको काम सुरु भएको थियो । गत बर्ष गाउँपालिका मार्फत विनियोजन भएको रु १८ लाख बजेटबाट पक्कि पर्खाल निर्माण सुरु गरिएको थियो । तस्बिरः गाउँपालिका उपाध्यक्ष खरमायाँ बिटालुको फेसबुकबाट

कमल खत्री

म्याग्दी अनलाईन डट् कमका सम्पादक हुन् l