बेनीमा गण्डकी प्रदेशस्तरीय ब्याडमिन्टन प्रतियोगिता सुरु

  • ९ फाल्गुन २०७५, बिहीबार
  • धिरन खत्री
  • 2905 पटक पढिएको


म्याग्दी, ९ फागुन । म्यादीको सदरमुकाम बेनीमा गण्डकी प्रदेशस्तरीय ब्याडमिन्टन प्रतियोगिता सुरु भएको छ । पश्चिमाञ्चल क्षेत्रीय खेलकुद विकास समिति, पोखरा र जिल्ला खेलकुद विकास समिति म्याग्दीको आयोजनामा संचालित प्रतियोगिता ४ दिनसम्म हुने छ।


आठांै राष्ट्रिय खेलकुद २०७५ मा गण्डकी प्रदेशबाट सहभागिता जनाउने खेलाडी छनोटका लागि आयोजना गरिएको प्रतियोगिताको उद्घाटन गण्डकी प्रदेशका सांसद् बिनोद केसीले गरेका हुन् । गण्डकी प्रदेशका ११ जिल्लाका ५८ खेलाडी सहभागिता रहेको प्रतियोगितामा पुरुष ३८ महिला २० जना खेलाडीले रहेका छन् । प्रतियोगिताबाट ६ पुरुष र चारजना महिला खेलाडी छनोट गरिने जिल्ला खेलकुद विकास समितिका अध्यक्ष कृष्णकुमार विश्वकर्माले बताए ।


उद्घाट्न कार्यक्रममा बोल्दै सांसद केसीले तिनतहको सरकारले ओझेलमा परेका क्षमतावान खेलाडीको प्रतिभा पहिचान गर्न सफल भएको बताए । प्रदेश सरकारले गण्डकी प्रदेशले अन्तराष्ट्रिय स्तरको सुविधासम्पन्न खेलमैदान निर्माण गर्ने निर्णय प्रदेशसभाले गरेको बताउदै जिल्ला र स्थानीय तहमा ब्यवस्थित खेलकुद मैदान निर्माणमा ध्यानदिन आग्रह गरेका थिए । त्यस्तै कार्यक्तममा जिल्ला समन्वय समितिका प्रमुख देवेन्द्रबहादुर केसी, प्रमुख जिल्ला अधिकारी लिलाधर अधिकारी, पश्चिमाञ्चल क्षेत्रीय खेलकुद विकास समितिका अध्यक्ष सम्पन्न श्रेष्ठले गण्डकी प्रदेशले राष्ट्रिय अन्तराष्ट्रियस्तरमा खेलकुदमा बनाएको पहिचानलाई निरन्तरता राख्न पुर्वाधारको विकास र खेलाडीलाई अभ्यासमा ध्यान दिनुपर्नेमा जोड दिएका थिए ।


जिल्ला खेलकुद विकास समिति म्याग्दीका अध्यक्ष विश्वकर्माको अध्यक्षता, कास्की खेलकुद विकास समितिका प्रमुख प्रकाश बरालको संचालनमा सम्पन्न कार्यक्तममा जिल्लाबाट प्रदेशस्तरमा सहभागिता भएर पदक दिलाउने खेलाडीलाई सम्मान गरिएको थियो ।

धिरन खत्री

म्याग्दी अनलाईन डट् कमका संवाददाता हुन् l