कोतखोला तेस्रो खानेपानी आयोजनाको आम्दानी खर्च विवरण सार्वजनिक

  • ८ फाल्गुन २०७५, बुधबार
  • 1952 पटक पढिएको

गोपाल आचार्य
ताकम ८ फागुन । धवलागिरी गाउँपालिका ७ ताकममा निर्माण भएको कोतखोला तेस्रो खानेपानी तथा सरसफाई आयोजनाको बुधबार सार्वजनिक परिक्षण गरिएको छ । उपभोक्ता समितिका अध्यक्ष देबवहादुर थापाको अध्यक्षता, सचिव ऋषीराम सुवेदीको सञ्चालन र गाउँपालिकाका अध्यक्ष थमसरा पुनको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा गत असारदेखि सञ्चालनमा निर्माण भएको आयोजनाको आम्दानी खर्च विवरण सार्वजनिक गरिएको हो ।


उपभोक्ता समितिका कोषाध्यक्ष गोपाल आचार्यले दुई करोड ६७ लाख ८८ हजार ५५५ रुपैयाँ बराबरको आम्दानी खर्च विवरण सार्वजनिक गर्नुभयो । पश्चिम नेपाल ग्रामिण खानेपानी तथा सरसफाई परियोजनाबाट ९५ लाख ११ हजार ३०२, तत्कालीन ताकम गाविस र धवलागिरी गाउँपालिकाबाट १६ लाख सात हजार ३१३ रुपैयाँ अनुदान तथा भारतीय राजदुताबासबाट ६५ लाख ६७ हजार ९१७ रुपैयाँ बराबरको निर्माण सामग्री सहयोग प्राप्त भएको थियो ।

९१ लाख रुपैयाँ श्रमदानको लागत अनुमान गरिएपनि एक करोड ४८ लाख २० हजार ७३५ रुपैयाँ बराबरको श्रमदान भएको कार्यक्रममा जानकारी गराइएको थियो । उपभोक्ताबाट २५ लाख ४२ हजार ८१५ रुपैयाँ नगद संकलन भएको र थप सात लाख २९ हजार ४१४ रुपैयाँ भुक्तानी दिन बाँकी रहेको उपभोक्ता समितिले जनाएको छ ।समितिका अनुसार भौगोलिक विकटताले लागत बढेको र परियोजनाबाट आठ लाख रुपैयाँ कम भुक्तानी भएकाले भुक्तानी गर्नुपर्ने बाँकी देखिएको हो । ताकमका ३०७ वटा घरमा निजी धारा र काफलडाडाँका २९ घरमा ९ वटा बालमैत्री सार्वजनिक धारा मार्फत खानेपानी वितरण गरिएको छ ।


कोतखोलामा मुहान रहेको आयोजनाको तीन किलोमिटर मुख्य र ३२ किलोमिटर शाखा वितरण लाइन रहेको छ । भिरमा झुण्डीएर पाइपलाइनको काम गर्ने क्रममा ताकमका तुलबहादुर थापाको ज्यान गएको थियो । सार्वजनिक परिक्षण कार्यक्रममा गाउँपालिकाका अध्यक्ष थमसरा पुनले खानेपानी आयोजनाले स्थानीयबासीलाई सुबिधा र राहत मिलेको बताउनुभयो । उपभोक्ता समितिले घाटा बजेट प्रस्तुत र उपभोक्तालाई आर्थिक भार परेको देखिएपनि आर्थिक कार्यबिधी र नियममा बाधिनु पर्ने भएकाले तत्कालै ऋण तिर्न बजेटको व्यवस्था गर्न सक्ने अवस्था नरहेको स्पष्ट पार्नुभयो ।

तेजेन्द्र थापाले सञ्चालन गर्नुभएको कार्यक्रममा वडा अध्यक्ष कलानिधी सुवेदी, पश्चिम नेपाल ग्रामिण खानेपानी तथा सरसफाई परियोजनाका इञ्जिनियर इन्द्र चन्द् र उपभोक्ता समितिका सल्लाहकार क्याप्टेन मनबहादुर भण्डारीले शुभकामना मन्तब्य व्यक्त गर्नुभएको थियो । निजी धारा जडान गरेर खानेपानी वितरण गरिएको आयोजनामा दुई जना कर्मचारी खटाइएको छ । प्रतियुनिट दश रुपैयाँका दरले महशुल निर्धारण गरिएको छ ।